बदाम फलाउने किसानलाई प्रोत्साहन रकम

बदाम फलाउने किसानलाई हौसलाका लागि उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख ५ हजार १ सय रुपैयाँ वितरण गरिएको हो ।

मंसिर २८, २०८२

डम्बरसिं राई

Incentive amount for peanut farmers

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाले बदाम फलाउने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ । पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई आइतबार प्रोत्साहन रकम वितरण गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार बदाम फलाउने किसानलाई हौसलाका लागि उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख ५ हजार १ सय रुपैयाँ वितरण गरिएको हो । 

नगरपालिकाको डिकुवाका २४ किसानले २ सय ६० मुरी, दुर्छिमका १३ किसानले १ सय ६४ मुरी, महादेवस्थानका ४३ किसानले ६ सय ३१ मुरी, धितुङका १ सय ५८ किसानले १ हजार ८ सय ४२ मुरी र राजापानीका २४ किसानले २ सय ३१ मुरी गरी ९३.८४ मेट्रिक टन बदाम फलाएका छन् । उनीहरूमध्ये सबैभन्दा बढी धितुङका गोपाल बुढाथोकीले ४१ मुरी बदाम फलाएको गिरीले बताए । 

पाँच मुरी बदाम उत्पादन गर्नेलाई २ हजार ५ सय र त्यसभन्दा बढी उत्पादन गर्नेलाई थप प्रतिमुरी ३ सय रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिएको गिरीले सुनाए । 

गत वर्ष पनि बदाम फलाउने किसानलाई प्रोत्साहन रकम वितरण गरिएको थियो । गत वर्ष १ हजार ५ सय ८३ मुरी (४७ मेट्रिक टन) उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा ४६.३५ मेट्रिक टन बढी बदाम उत्पादन भएको गिरीले बताए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully