पीडित पक्षको जाहेरीका आधारमा आरोपित पाण्डेलाई पक्राउ गरेपछि स्थानीयले मदन भण्डारी लोकमार्गको अवरोध हटाएका छन् ।
उदयपुर — उदयपुरमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बेलका नगरपालिका–३ नयाँ टोलका १६ वर्षीय समिर माझीलाई ट्याक्टरले ठक्कर दिँदा आइतबार उनको मृत्यु भएको हो।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भई सडक किनारमा लडिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पीडित पक्षले दोषीलाई तत्काल पक्राउको माग गर्दै दिनभर सडक प्रदर्शन गरेका थिए ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) पुर्याउनासाथ चिकित्सकले माझीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले जानकारी दिए । उनका अनुसार ट्याक्टरसहित चालक बेलका नगरपालिका–३ कालिखोलाका २२ वर्षीय विशाल पाण्डेलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
पीडित पक्षको जाहेरीका आधारमा आरोपित पाण्डेलाई पक्राउ गरेपछि स्थानीयले मदन भण्डारी लोकमार्गको अवरोध हटाएका छन् । आन्दोलनका कारण दिनभर सडकमा रोकिएका सयौं सवारीसाधन आइतबार बेलुकाबाट गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।
