जिल्ला सभापति विष्णुकुमार राई निस्कासनमा परेपछि जिल्ला नेतृत्वविहीन हुँदा कांग्रेसका गतिविधि नै शून्य भएको नेताकार्यकर्ता बताउँछन् ।
What you should know
खोटाङ — प्रतिनिधिसभाको चुनाव नजिकिँदै गरेको बेला जिल्लामा कांग्रेसको नेतृत्वबारे टुंगो नहुँदा पार्टीका नियमित कामकाज समेत प्रभावित भएको छ ।
जिल्ला सभापति विष्णुकुमार राई निस्कासनमा परेपछि जिल्ला नेतृत्वविहीन हुँदा कांग्रेसका गतिविधि नै शून्य भएको नेताकार्यकर्ता बताउँछन् ।
२०७९ को प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको आधिकारिक उम्मेद्वारलाई असहयोग गरेको आरोपमा सभापति राईलाई एक वर्षका लागि निस्कासन गरेपछि कांग्रेस खोटाङ नेतृत्वविहीन भएको हो । राईलाई कांग्रेस केन्द्रीय अनुशासन समितिको २०८२ असार १७ गतेको बैठकले एक वर्षका लागि निस्कासन गरेको थियो ।
निस्कासनमा परेपछि पूर्वाग्राही हिसाबले पार्टीले आफूलाई कारबाही गरेको भन्दै पुनर्विचारका लागि राईले साउन १२ गते निवेदन दिएका थिए । तर यसबारे कांग्रेस केन्द्रले कुनै निर्णय नगरेको खोटाङ कांग्रेस–२ का क्षेत्रिय सभापति दिनेशकुमार घिमिरेले बताए ।
राईलाई निस्कासन गरेपछि कांग्रेस केन्द्रले कार्यबाहक नतोक्दा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार सिफारिसको काम पनि हुन सकेको छैन । पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न समेत नसकिएको कांग्रेस जिल्ला उपसभापति इवन राईले बताए । ‘केन्द्रले बेलामा निर्णय नगरिदिँदा उम्मेद्वार सिफारिस, नयाँ क्रियाशील सदस्यता र नवीकरणका लागि सिफारिस गर्नसम्म सकिएको छैन,’ उपसभापति राईले भने ।
उपसभापतिहरू तीर्थराज भट्टराई र इबन राईलाई कांग्रेस केन्द्रले कार्यबाहक नदिदा खोटाङ कांग्रेस नेतृत्व विहीन भएको हो । बरियतामा तीर्थराज भट्टराई अघि भए पनि गुटगत गतिविधिले उनलाई कार्यबाहक नदिएको एक कार्यकर्ताले बताए । बरियतामा दोस्रोमा रहेको उपसभापति राईले कार्यबाहकका लागि कसरत गरे पनि टुंगो लागेको छैन ।
जिल्लास्थित एक कांग्रेस नेताका अनुसार भट्टराईलाई कार्यबाहकको जिम्मेवारी दिलाउन निस्कासनमा परेका राई, पूर्वसंस्कृति पर्यटन नागरिक उड्ययन राज्यमन्त्री सर्वधन राई, प्रदेश कार्यसमिति सदस्य विमला राई, जिल्ला कार्यसमिति सचिव ज्ञानेन्द्र जोशीलगायतका नेताहरू देखिन्छन् । उपसभापति राईको पक्षमा कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री समेत रहेका एवं कांग्रेसका कोशी प्रदेश महामन्त्री भूपेन्द्र राई, जिल्ला सचिव समीर राई, सुवाश पोखरेललगायत उभिएका छन् ।
