हलेसी तुवाचुङ नगरपालिकाले विपन्नलाई घर बनाइदिने

विपन्न परिवारलाई भूकम्प–प्रतिरोधी घर निर्माण गरिदिने

मंसिर २६, २०८२

डम्बरसिं राई

Halesi Tuwachung Municipality to build houses for the poor

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाले विपन्न परिवारलाई भूकम्प–प्रतिरोधी घर निर्माण गरिदिने निर्णय गरेको छ। नगरपालिकाको १३६औँ कार्यपालिका बैठकले ३ विपन्न परिवारका लागि भूकम्प–प्रतिरोधी घर निर्माण गर्ने निर्णय गरेको हो।

हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार मंसिर २० गते बसेको १३६औँ नगर कार्यपालिकाको बैठकले नगरपालिका–१० अर्खौलेका सरिता सार्की र वीरबहादुर सार्कीको परिवारलाई घर बनाइदिने निर्णय गरेको हो।

उनीहरूकी १२ वर्षीया छोरी तारा सार्की गत साउन २९ गते दिक्तेल रूपाकोट मझुवागढी–३ बाम्रामका राम हिङ्माङको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

यस्तै, नगरपालिका–६ मङ्गलटारका भया दमाई र वडा नं.–२ डिकुवाका देशवीर राईलाई समेत भूकम्प–प्रतिरोधी घर निर्माण गरिदिने निर्णय गरिएको गिरीले बताए। यी ३ विपन्न परिवारलाई ४ महिनाअघि नगद १५–१५ हजार रुपैयाँसहित खाद्यान्न पनि उपलब्ध गराइएको गिरीले जानकारी दिए।

‘अर्खौले, मङ्गलटार र डिकुवाका गरी ३ विपन्न घरपरिवारलाई घर निर्माण गरिदिने निर्णय गरिएको छ,’ गिरीले भने, ‘उहाँहरूलाई ४ महिनाअघि नगद १५–१५ हजार रुपैयाँ र खाद्यान्न उपलब्ध गराएको थियौँ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully