घरमा आगजनी हुँदा जलेर घाइते महिलाको मृत्यु

मंसिर १८ गते घरमा आगलागी हुँदा गम्भीर रूपमा घाइते भएकी उनको बुधबार उपचारका क्रममा निधन भएको इलाम प्रहरीले जनाएको छ।

मंसिर २५, २०८२

लक्ष्मी गौतम

Woman dies after being burned in house fire

पाँचथर — घरमा आगजनी हुँदा जलेर घाइते भएकी इलाम नगरपालिका–६ निवासी ३२ वर्षीया सिर्जना राईको निधन भएको छ। 

मंसिर १८ गते घरमा आगलागी हुँदा गम्भीर रूपमा घाइते भएकी उनको बुधबार उपचारका क्रममा निधन भएको इलाम प्रहरीले जनाएको छ। मंसिर १८ गते राति घरमा आगो लागेपछि शरीरको करिब ६० प्रतिशत भागमा जलन भएको अवस्थामामा स्थानीय र प्रहरीले उद्धार गरी इलाम अस्पताल पुर्‍याएका थिए। 

त्यहाँ उपचार सम्भव नहुने भएपछि जिल्ला अस्पतालले उनलाई रेफर गरेसँगै विराटनगरस्थित ग्रिनक्रस अस्पताल पुर्‍याइएको थियो। त्यही क्रममा उपचारकै बीच उनी निधन भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। आगलागीमा परेका उनका पति सन्तोष राई पनि घाइते छन्। उनको पनि ग्रिनक्रस अस्पताल, बिराटनगरमै उपचार भइरहेको छ।

उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा सिर्जनाको शरीर अस्पतालबाट बुझ्न समस्या परेको छ। इलाम–६ का वडाध्यक्ष दुर्गा श्रेष्ठ (मदन)का अनुसार ग्रिनक्रस अस्पतालको करिब ६ लाख रुपैयाँ बराबरको बिल तिर्न बाँकी रहेको छ। 

चुलोमा आगो सल्काउन पेट्रोल प्रयोग गर्दा घरमा आगलागी भएको प्रहरीले जनाएको छ। राई दम्पती दुवैजना चियाबगानका श्रमिक हुन्। उनका तीन नाबालक छोराछोरी छन्। 

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully