कोशीमा धान उत्पादन घट्याे

कृषि विज्ञहरूका अनुसार रोपाइँका बेला खडेरी र काट्ने बेलामा अत्याधिक वर्षा हुँदा उत्पादनमा गिरावट आएको हो ।

मंसिर २५, २०८२

पर्वत पोर्तेल

Rice production declines in Koshi

What you should know

विराटनगर — कोशी प्रदेशमा यो वर्ष धान उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा करिव २० हजार मेट्रिक टन उत्पादन घटेको हो ।

प्रदेश कृषि निर्देशनालयका अनुसार गत वर्ष प्रदेशभर ११ लाख २२ हजार २२१ मेट्रिक मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष उत्पादन घटेर ११ लाख २ हजार ९४९ मेट्रिक टन मा पुगेको छ । 'उत्पादनमा आएको यो कमी करिब १९ हजार २७२ मेट्रिक टन बराबर हो', निर्देशनालयकी सूचना अधिकारी पूर्णमाया गुरुङले भनिन् ।

कृषि विज्ञहरूका अनुसार रोपाइँका बेला खडेरी र काट्ने बेलामा अत्याधिक वर्षा हुँदा उत्पादनमा गिरावट आएको हो । साथै कीराको प्रकोप र केही क्षेत्रमा धानबाली छोडेर देखिएको वैकल्पिक रोजाइले उत्पादकत्वमा असर पारेको हो ।

उत्पादनसँगै खेतीयोग्य क्षेत्र पनि थोरै घटेको निर्देशनालयले जनाएको छ । गत वर्ष २ लाख ७५ हजार २ सय ६८ हेक्टर क्षेत्रमा धान खेती भएको थियो । यो वर्ष २ लाख ६९ हजार ६ सय ८४ हेक्टरमा  खेती भएको हो ।

कृषि कार्यालयहरूका अनुसार धान उत्पादनको राजधानी मानिने मोरङ, झापा र सुनसरीमै धान उत्पादन घटेको छ । जसका कारण कोशीको कुल उत्पादनमै असर परेको छ ।

झापामा यो वर्ष ३ लाख ५४ हजार ३ सय ५१ मेट्रिकटन धान उत्पादन भयो । अघिल्लो वर्ष ३ लाख ८२ हजार ८ सय १२ मेट्रिकटन उत्पादन भएको थियो । यो झापामा वर्ष करिब २८ हजार टन उत्पादन घटेको हो । 

मोरङमा गत वर्ष ३ लाख ३९ हजार टन धान फलेको थियो । यो वर्ष ३ लाख ३६ हजार ९ सय २० टन मात्रै उत्पादन भयो । सुनसरीमा गत वर्ष २ लाख १७ हजार टन उत्पादन हुँदा यसपटक २ लाख ११ हजार ६ सय ८ टन मात्रै फल्यो ।

सरकारले आगामी वर्ष बीउ सुधार, सिँचाइ बिस्तार र आपतकालीन कृषि सहायताका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न सके मात्र प्रदेशको धान उत्पादन स्थिर हुने कृषि विज्ञहरूको सुझाव छ ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully