खोटाङमा ३४ करोड बढीको सुन्तला उत्पादन

यो वर्ष सबैभन्दा बढी जन्तेढुङगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सुन्तला उत्पादन भएको छ ।

मंसिर २४, २०८२

डम्बरसिं राई

Khotang produces oranges worth over Rs 340 million

What you should know

खोटाङ — जिल्लामा ३४ करोड बढीको सुन्तला उत्पादन भएको छ । जिल्लाको ९ सय ८० हेक्टरमा ३४ करोड १० लाख रूपैयाँ बराबरको सुन्तला उत्पादन भएको हो ।

कृषि ज्ञान केन्द्र खोटाङका कृषि अर्थविज्ञ दीपक चौहानका अनुसार यो वर्ष जिल्लामा ९ सय ८० हेक्टरमा ३४ सय १० मेट्रिकटन सुन्तला उत्पादन भएको हो । 

तर गत वर्षको तुलानामा १५ हेक्टरमा सुन्तला उत्पादन घटेको चौहानले बताएका छन् । ‘गत वर्ष ९ सय ९५ टेक्टरमा सुन्तला उत्पादन भएकोमा यो वर्ष घटेर ९ सय ८० हेक्टरमा मात्र सुन्तला उत्पादन भयो,’ चौहानले भने, ‘उत्पादन भएको ३४ सय १० मेट्रिकटन सुन्तला प्रतिकेजी एक सय रूपैयाँको हिसावले ३४ करोड १० लाख बराबरको उत्पादन भएको छ ।’

यो वर्ष सबैभन्दा बढी जन्तेढुङगा र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सुन्तला उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका जगत राईले सुन्तलाबाट यो सिजनमा ७ लाख आम्दानी गरेका छन् । अढाई सय बोट सुन्तला बेच्दा यो मङ्सिरमा ७ लाख आम्दानी गरेको राईले सुनाएका छन् । ‘यातायातको सुविधाले बगानबाटै सुन्तला बेचियो’ राईले भने–‘यो साल सुन्तलाबाट ७ लाख आम्दानी भयो ।’

उनी मात्र होइन यसक्षेत्रका अन्यले पनि सुन्तलाबाट लाखौं आम्दानी गरेका छन् । उक्त गाउँपालिकाको सातमारा, केराबारी, सोभे, फगतपुर, पाथीभरा, भीरगाउँ, वाचीपाला, घोले, खुटा, कात्तिकेका किसानले सुन्तलाबाट मनग्गे आम्दानी गरेका छन् । राईका अनुसार उक्त पालिकामा करिब साढे ४ करोड जति सुन्तलाबाट भित्रिएको छ । 

‘जन्तेढुङ्गा गाउँपालिकामा साढे ४ देखि ५ करोडको हाराहारीमा सुन्तला बिक्री भयो,’ राईले भने, ‘पोहोरको तुलनामा यो वर्ष सुन्तला उत्पादन पछि बढेको छ ।’ दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका राम कुँवरले सुन्तलाबाट यो वर्ष १२ लाख आम्दानी हुने अनुमान गरेका छन् ।

गत वर्ष ९ लाख आम्दानी भएकोमा यो वर्ष सुन्तलाको उत्पादन बढेकाले आम्दानी पनि बढ्ने कुँवरको भनाइ छ । ‘पोहोर ९ लाखको सुन्तला बेचेको थिएँ, यो वर्ष सुन्तला उत्पादन बढेको छ, १२ लाख जति हुन्छ होला,’ कुँवरले भने । उनी लगायत दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अन्यले पनि सुन्तलाबाट राम्रो आम्दानी गर्ने गरेको कुँवरले सुनाएका छन् ।

खोटेहाङ गाउँपालिकाका किसानले पनि सुन्तलाबाट राम्रै हाम्दानी गर्ने गरेको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका इन्द्र नारथुङेले बताएका छन् । उक्त पालिकामा भने यो वर्ष गत वर्षको तुलनामा सुन्तलाको उत्पादन घटेको नारथुङेले सुनाएका छन् ।

 त्यस्तै रावाबेसी गाउँपालिकामा पनि सुन्तलाको उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्र खोटाङका कृषि अर्थविज्ञ दीपक चौहानका अनुसार रावाबेसीको लामीडाँडा क्षेत्रमा रोगले सुन्तलामा क्षति पुर्‍याउँदा उत्पादन घटेको छ । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully