जिल्लाभित्र नयाँ पुस्ताले चुनावी नेतृत्व सम्हाल्ने अपेक्षा भए पनि सिफारिस सूचीमा दशकौंदेखि सक्रिय ‘पुराना शक्ति–समूहमै’ घुमफिर देखिनु पार्टीभित्रै चर्चाको विषय भएको छ ।
What you should know
विराटनगर — आगामी फागुन २७ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस मोरङले ६ वटै क्षेत्रका उम्मेदवार सिफारिस गर्दा पनि नयाँ अनुहारभन्दा पुरानै नेता–कार्यकर्तालाई प्राथमिकता दिइएको छ ।
जिल्लाभित्र नयाँ पुस्ताले चुनावी नेतृत्व सम्हाल्ने अपेक्षा भए पनि सिफारिस सूचीमा दशकौंदेखि सक्रिय ‘पुराना शक्ति–समूहमै’ घुमफिर देखिनु पार्टीभित्रै चर्चाको विषय भएको छ ।
मोरङ–१ मा जिल्ला सभापति डिकबहादुर लिम्बूलाई पहिलो प्राथमिकतामा सिफारिस गरिएको छ । लामो समयदेखि कांग्रेस मोरङमा संगठनात्मक नेतृत्व सम्हाल्दै आएका लिम्बूले यसअघि पनि सोही क्षेत्रबाट दाबी गर्दै आएका थिए ।
क्षेत्र नम्बर २ मा पनि मिनेन्द्र रिजालकै नाम अगाडि रहेको बताइन्छ । रिजाल यसअघि पनि विभिन्न स्तरमा चुनाव लडेका वा नेतृत्वमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन् ।
मोरङ–३ मा सुनिल शर्मा उम्मेदवारका रूपमा फेरि सिफारिसमा परेका छन् । शर्माले अघिल्लो पटक यसै क्षेत्रबाट जितेका हुन् ।
मोरङ–४ मा महेश आचार्यलाई पहिलो प्राथमिकतामा सिफारिस गरिँदा पनि नयाँ पुस्ताबाट कोही अगाडि आउन पाएनन् । आचार्यसँगै गुरुराज घिमिरे, दिलीप रञ्जितकार, विनोदकुमार बन्नेतजस्ता पुरानै नेताहरूको नाम सूचीमा छन् ।
मोरङ–५ मा हसन अन्सारी नै पहिलो सिफारिसमा परेका छन् । अन्सारी लामो समयदेखि स्थानीय तह र पार्टीभित्र सक्रिय रहँदै आएका मुस्लिम नेता हुन् ।
क्षेत्र नम्बर ६ मा शेखर कोइरालालाई सिफारिसमा राखिएको छ । कोइरालाले पनि अघिल्लो पटक यसै क्षेत्रबाट जितेका हुन् ।
प्रत्यक्षतर्फ सिफारिस सूची सार्वजनिक भएपछि मोरङका युवा कार्यकर्ताले सामाजिक सञ्जालमै प्रश्न उठाइरहेका छन्, 'नेतृत्व हस्तान्तरण गर्ने भनेका नेता नै फेरि सिफारिसमा किन ?'
कांग्रेस मोरङभित्र केही युवा तथा महिला समूहले आन्तरिक लोकतन्त्र कमजोरो हुँदै गएको आरोपसमेत लगाएका छन् । सिफारिस प्रक्रियामा नेतृत्व परिवर्तनको सम्भावना न्यून देखिएको उनीहरूको धारणा छ ।
