धरानमा स्कुल बसको ठक्करबाट अटो चालकको मृत्यु, एक जना घाइते

धरानमा–९ स्थित विष्णु मेमोरियल स्कुलको बस विद्यार्थी लिन जाने क्रममा मिलन चोकस्थित भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो ।

मंसिर २४, २०८२

एलिना राई

Auto driver dies, one injured in school bus collision in Dharan

धरान — धरानमा स्कुल बसले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बुधबार बिहान धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडक खण्डमा मिलनचोकबाट भोटेपुलतर्फ गइरहेको को १ क ७८२ नम्बरको विष्णु मेमोरियल स्कुल बसले विपरीत दिशाबाट आइरहेको को १ ह ८७७४ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुवँरले जानकारी दिए ।

दुर्घटनामा सख्त घाइते भएका अटो चालक धरान–१९ एकता मार्गका २४ वर्षीय निमेष भुजेल र अटोमा सवार धरान–१९ का ५५ वर्षीय सीताराम ईवा लिम्बूलाई तत्कालै उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । तर उपचारका क्रममा अटो चालक भुजेलको मृत्यु भएको प्रहरी निरीक्षक कुवँरलेले बताए । अटोमा सवार लिम्बूको भने उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Auto driver dies, one injured in school bus collision in Dharan

प्रहरी निरीक्षक कुवँरका अनुसार धरानमा–९ स्थित विष्णु मेमोरियल स्कुलको बस विद्यार्थीहरुलाई लिन जाने क्रममा मिलन चोकस्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो । बसमा सवार विद्यार्थीहरु भने सबै सकुशल नै रहेको उनले बताए । ‘बसमा सवार विद्यार्थीहरु भने सबै ठिकै छन्, कुनै पनि चोटपटक लागेको छैन,’ उनले भने । 

घटनामा संलग्न स्कुल बस चालक धरान–१४ का २९ वर्षीय अमिर तामाङलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएर घटनासम्बन्धी आवश्यक अनुसन्धान अघि बढाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully