प्रतिष्ठानका कुलपति भूपाल राई र पालिका अध्यक्ष असिम राईबीच स्थानीय भाषा, साहित्य र कलाको संरक्षण गर्दै प्रवर्द्धन गर्नका लागि ठोस कार्यक्रम अगाडि सार्ने सहमति भएको हो ।
सोलुखुम्बु — स्थानीय भाषा र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नेगरी नेपाल प्रज्ञा प्रतिष्ठान र थुलुङ दुधकोशी गाउँपालिकाबीच समझदारी भएको छ ।
गाउँपालिकामा स्थानीय सरकार र प्रज्ञा प्रतिष्ठानबीच भएको विमर्श कार्यक्रममा स्थानीय भाषा र कलाको संरक्षणमा सामूहिक कदम चाल्ने सझदारी भएको हो ।
प्रतिष्ठानका कुलपति भूपाल राई र पालिका अध्यक्ष असिम राईबीच स्थानीय भाषा, साहित्य र कलाको संरक्षण गर्दै प्रवर्द्धन गर्नका लागि ठोस कार्यक्रम अगाडि सार्ने सहमति भएको हो ।
थुलुङ दुधकोशी प्रज्ञा प्रतिष्ठानको समन्वय र गाउँपालिकाको आयोजनामा भएको विमर्श कार्यक्रममा कुलपति राईले देशभरि ५२ वटा स्थानीय तहमा मात्रै प्रज्ञा प्रतिष्ठान गठन भएको भन्दै देशभरिका अन्य स्थानीय तहले कलाको क्षेत्रमा लगानी नगर्नु दु:खद् भएको बताए । ‘हाम्रो लक्ष्य देशभरिका स्थानीय तहमा हाम्रो गतिविधिलाई विस्तार गर्ने हो तर अधिकांश तहले भाषा, कला र संस्कृतिलाई प्राथमिकता दिएका छैनन्,’ कुलपति राईले भने ।
कार्यक्रममा पालिका अध्यक्ष राईले भौतिक विकास मात्रै नभएर सामाजिक विकासमा पनि सँगसँगै अगाडि बढेको धारणा राखे । उनले जिल्लामै पहिलो पटक प्रज्ञा प्रतिष्ठान गठन गरेर साहित्यिक गतिविधि सञ्चालन गरिरहेको बताए ।
बृहत् ओगानेम क्षेत्र विकास समिति समेतको सहजीकरणमा भएको कार्यक्रममा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष विरेन्द्र राई लगायतले कला क्षेत्रको उत्थानमा जोड दिएको स्थानीय प्रतिष्ठानका संयोजक सुवास संगम राईले बताए ।
विमर्शमा स्थानीय कवि, साहित्यकार र कलाकर्मी एवं बौद्धिक वर्गको सहभागिता रहेको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
