अमृता अस्पतालसँगको सहकार्यमा शुक्रबार न्यूरोलोजी (टाउको तथा नसा) र पल्मोनोलोजी (फोक्सो तथा दम) सम्बन्धी नियमित मेडिकल शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न गरेको छ ।
विराटनगर — न्यूरो अस्पताल विराटनगरले भारत हरियाणास्थित फरिदावादको अमृता अस्पतालसँग सहकार्य थालनी गरेको छ ।
अमृता अस्पतालसँगको सहकार्यमा शुक्रबार न्यूरोलोजी (टाउको तथा नसा) र पल्मोनोलोजी (फोक्सो तथा दम) सम्बन्धी नियमित मेडिकल शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न गरेको छ ।
कोशी र मधेश प्रदेशमा पहिलोपटक यस्तो उच्चस्तरीय कार्यक्रम भएको अस्पतालका अपरेसन डाइरेक्टर राजेश भट्टराईले शनिबार पत्रकार सम्मेलनमा जनाए । अमृता अस्पतालका वरिष्ठ न्यूरोलोजिस्ट डा. संजय पाण्डे, सीनियर न्यूरोसर्जन डा. सौरभ पाहुजापाहुजालगायतका विशेषज्ञ चिकित्सकले सेवा प्रदान गरेका थिए ।
भारतको विशेषज्ञ टोलीले स्ट्रोक, टाउको तथा मेरुदण्ड (स्पाइन) रोग, एपिलेप्सी, फोक्सोमा देखिने न्यूरोलोजिकल प्रभावलगायत विषयमा प्रशिक्षण तथा अनुभव साझा गरेका थिए । अस्पतालका अनुसार भारतको दिल्ली एनसीआर क्षेत्रमा अवस्थित २ हजार ६ सय शय्य क्षमताको अमृता अस्पताल विश्वस्तरीय उपचारका लागि परिचित छ । त्यहाँ हाल ५ सयभन्दा बढी आईसीयु र सीसीयु बेडहरुसहित अत्याधुनिक प्रविधिसहितको अंग प्रत्यारोपणदेखि रोबोटिक सर्जरी सेवा रहेको छ ।
शनिबार निःशुल्क ओपीडी क्याम्पसमेत आयोजना गरिएको थियो । दुवै अस्पतालबीचको यो सहकार्यले कोशी–मधेश प्रदेशमा न्यूरोलोजी उपचार सुदृढ गर्ने अस्पतालका संस्थापक तथा वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्टले जनाए ।
न्यूरो अस्पतालले भविष्यमा जटिल स्ट्रोक, ब्रेन तथा स्पाइनसम्बन्धी रोगका बिरामीलाई थप सहज र गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ ।
