न्यानोको खोजीमा तराई झर्दै भोटखोलाबासी

भोटखोला गाउँपालिकामा पाँच वडा छन् । विशेष गरी किमाथाङ्का, हटिया, चेपुवा, गोलाजस्ता उच्च हिमाली बस्तीमा बस्ने भोटे तथा लामा समुदायका परिवार चिसो समयमा जीविकोपार्जनका लागि बसाइँसराइ गर्छन् ।

मंसिर २०, २०८२

दीपेन्द्र शाक्य

Bhotkhola residents descend to the Terai in search of warmth

What you should know

संखुवासभा — यहाँको उच्च हिमाली भूभाग । जहाँ हिउँद लागेपछि कठ्याङ्गिँदो चिसोले दैनिकीसमेत रोकिदिन्छ । संखुवासभाको भोटखोला गाउँपालिका–२ च्याम्ताङका कान्छाठिलेन भोटे चिसोको साक्षी बनेर बर्सेनि मंसिरको अन्तिम सातादेखि नै सदरमुकाम खाँदबारीतर्फ झर्छन् । केही दिन खाँदबारीमा बसाइ गरेपछि उनी लालावाला, जडीबुटीसहित तराईका विभिन्न बजारतर्फ यात्रा गर्छन् ।

वर्षौंदेखि दोहोरिने यो यात्रा स्थानीय भाषामा ‘काबेला झर्नु’ भनिन्छ । कान्छाठिलेन मात्र होइन, भोटखोला गाउँपालिकाका च्याम्ताङ, हुङगुङ, चेपुवा लगायतका बस्तीसहित झन्डै पाँच सयभन्दा बढी बासिन्दा हरेक चिसो मौसममा पहाड छाडेर तराई झर्ने गर्छन् । 

हिँउद सुरु हुनासाथ चिसो बढेर घरपरिवार, पशुचौपाया र खेतीपातीसमेत जोगाउन मुस्किल हुने भएकाले उनीहरू कम्तीमा तीन महिना न्यानो ठाउँमा सर्छन् । वर्षभरि संकलन गरेका जडीबुटी, स्थानीय उत्पादन र परम्परागत वस्तु बोकेर उनीहरू मोरङ, सुनसरी, भापा, इटहरी, विराटनगरलगायतका बजारमा व्यापार गर्छन् ।

हुङगुङका पासाङदोर्ची भोटे पनि हरेक वर्ष झन्डै तीन महिना पहाड छाडेर तराईतर्फ झर्छन् । झोलामा केही कपडा, काँधमा जडीबुटीका पोका बोकेर परिवारसहित सदरमुकामतर्फ झर्छन् । खाँदबारीमा दुई–चार दिन बसेपछि उनीहरू मोरङ, सुनसरी, झापासम्म झर्छन् । यिनको उद्देश्य एउटै छ, न्यानो मौसम पर्खनु र वर्षभरि संकलन गरेको जडीबुटी बेचेर आवश्यक सामान किन्नु ।

‘यहाँको मौसम, उकालो–ओरालो र हिमाली जोखिम उस्तै चुनौतीपूर्ण नै छ,’ उनले भने, ‘चिसो भयानक हुन्छ, हिउँ थुप्रिन्छ र संचार तथा यातायात पनि कठिन हुन्छ ।’ गाउँमा सञ्चार सुविधा पनि खासै राम्रो नभएको उनले सुनाए । ‘बिजुली नभएकाले मोबाइल चार्ज गर्ने भनेको सोलार सिस्टमबाट हो,’ उनले भने, ‘गाडीमा चढ्न पनि कम्तीमा दुई दिन पैदल हिँड्न पर्छ ।’ 

यहाँ यतिविधि चिसो हुन्छ कि हिउँ परेपछि घरभित्रै बस्नुको विकल्प नरहने पासाङदोर्चीले सुनाए । ‘जाडोमा आलु, कोदो, गहुँ, जौ जोगाउनै समस्या हुन्छ । त्यसैले हामी तराई झर्छौं, त्यतै जडीबुटी बेचेर परिवारको खर्च चलाउँछौं,’ उनले भने, ‘त्यही पैसाबाट नुन, तेल र कपडा किनेर तीन महिनापछि हिमाल उक्लिन्छौं ।’ 

भोटखोला गाउँपालिकामा पाँच वडा छन् । विशेष गरी किमाथाङ्का, हटिया, चेपुवा, गोलाजस्ता उच्च हिमाली बस्तीमा बस्ने भोटे तथा लामा समुदायका परिवार चिसो समयमा जीविकोपार्जनका लागि बसाइँसराइ गर्छन् । Bhotkhola residents descend to the Terai in search of warmth

हिउँले बाटो अवरुद्ध हुने, गोठालो चलाउन कठिन, बालबच्चालाई स्कुल पठाउन चुनौतीपूर्ण हुने भएकाले सबै सदस्य तराई झर्छन् भने घरमा गाईबस्तु हेर्नका लागि मात्र एक जना राखिन्छ । 

भोटखोला र आसपासका हिमाली क्षेत्रमा जडीबुटी संकलन पुरानो परम्परा हो । भोटे, लामा तथा शेर्पा समुदायमा यो पुर्खौली पेसा जस्तै चल्दै आएको छ । उनीहरूले संकलन गर्ने जडीबुटीको सूची लामो छ । शिलाजित, पदमचाल, सुगन्धवाल, टिमुर, हिँग, केसर, बतिसा, जेठिमधु, पदमशालदेखि यार्सागुम्बासम्म उनीहरू संकलन गरेर बिक्री गर्छन् । यिनै जडीबुटी तीन महिनासम्म तराईको बजारमा बेचेर उनीहरू घरखर्च, बालबच्चाको पढाइ, घरायसी सामान तथा नुन–तेल खरिद गर्छन् । 

भोटखोलाबाट तराई झर्नेहरूले धार्मिक तथा सांस्कृतिक प्रयोजनका सामग्री पनि लैजान्छन् । किरात समुदायले साकेला उभौली–उधौलीमा प्रयोग गर्ने बस्तुदेखि नेवार समुदायले लाखे जात्रामा प्रयोग गर्ने चौरीको पुच्छरसम्म उनीहरूले बेच्ने गर्छन् । चौरीको पुच्छर तिव्बतबाट ल्याइने भएकाले त्यसले उनीहरूलाई थप आम्दानी दिन्छ । रक्सी बनाउन प्रयोग हुने मर्चादेखि विभिन्न जडीबुटीको धुप–धुपौरी, औषधिजन्य सामग्री पनि उनीहरू बेच्छन् । 

भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर लामाका अनुसार तराई झर्दा उनीहरूले करिब एक सयभन्दा बढी प्रकारका जडीबुटी र परम्परागत सामग्री लग्छन् । तीन महिनामा एक लाख रुपैयाँभन्दा बढी कमाउने परिवार पनि छन् । चिसोबाट बच्न मात्र होइन, राम्रो आम्दानी हुने भएकाले यो यात्रा उनीहरूका लागि अनिवार्य जस्तै बनेको छ ।

भोटखोला गाउँपालिकाका अधिकांश बस्ती २ हजार ५ सयमिटरदेखि ४ हजार मिटर उचाइमा छन् । हिउँदमा निरन्तर हिउँपात परिरहेको हुन्छ । स्थानीयहरू भन्छन्, ‘कहिलेकाहीँ एक हप्ता घाम नदेखिने अवस्था आउँछ । घरायसी कामदेखि खेतपाती सबै ठप्प हुन्छ ।’ त्यसबाहेक विद्यालय सञ्चालनमा पनि हिउँले प्रभाव पार्ने गरेको छ । भोटखोलाका–९ सामुदायिक विद्यालयमा करिब ३ सय ५० विद्यार्थी छन् । जाडो बढेपछि विद्यालयले माघ महिनाभर ‘हिउँदे बिदा’ दिनुपर्छ ।

शिक्षकसमेत तराई झर्ने भएकाले कक्षा सञ्चालन गर्न कठिन हुने अध्यक्ष लामाले बताए । ‘काबेला बसाइँसराइ परम्परागत ज्यानरक्षा र आर्थिक विकल्प हो,’ उनले भने । स्थानीय वृद्धवृद्धाका अनुसार काबेला झर्ने चलन धेरै वर्षदेखिको संस्कृतिजस्तै रहेको छ । ‘काबेला चिसोबाट जोगिनका लागि गरिएको भए पनि पछिल्ला दशकमा यो व्यापारिक अवसरसमेत बनेको छ,’ उनले भने, ‘जडीबुटी व्यापारले उच्च हिमाली क्षेत्रका धेरै परिवारका लागि दिगो आयस्रोत दिएको छ ।’ 

तापक्रम अत्यधिक घट्दा गाउँमा बस्नै नसकिने अवस्था आउने उनले बताए । ‘चिसोले दैनिकी रोकिदिन्छ । बिजुली गाउँगाउँसम्म पुगेको छैन । टुकीको सहारामा जीवन बिताउनु पर्छ,’ उनले भने, ‘हुनेखाने र सक्नेले सोलार जोडेका छन् । नसक्ने टुकी बालेर बस्छन् ।’ यस्तै बेला जडीबुटीको व्यापार नै उनीहरूको मुख्य भरोसा र जीविकोपार्जनको माध्यम बन्ने गरेको छ ।

पहिले भोटखोलातिर पुग्न पाँच–सात दिन पैदल यात्रा गर्नुपर्थ्यो । अहिले खाँदबारीदेखि करिब १ सय २० किलोमिटर दूरीमा रहेको च्याम्ताङसम्म कच्ची सडक पुगेको छ । सडक पुगेपछि स्थानीयले केही राहत महसुस भने गरेका छन् । वर्षात्मा सडक अवरुद्ध हुने भए पनि हिउँदे मौसममा साना सवारी साधन चल्ने गर्छन् ।

सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका पाँच विभिन्न युनिटमा सुरक्षा दिन्छन् । हटिया, साक्सिलागोला, चेपुवा, रिदाक र किमाथांकामा प्रहरीको उपस्थिति छ । यसले जडीबुटी संकलन, व्यापार र यात्रामा स्थानीयलाई सुरक्षा र आत्मविश्वास प्रदान गरेको अध्यक्ष लामाले बताए । 

हिउँदका तीन महिना गाउँ सुनसान हुन्छ । चिसो बढ्दै जाँदा भोटखोला गाउँपालिकाका गाउँहरू अहिले क्रमशः सुनसान बन्दै गएका छन् । घरपरिवार, चौपाया, गोठ र परम्परागत बस्तीहरू छाडेर धेरैजसो परिवार तल्लो भूभागतिर झरेका छन् । तराईका बजारमा भने भोटे, लामा समुदायका मानिसको चहलपहल बाक्लिँदै गएको छ । मोरङ र सुनसरीका बजारमा उनीहरूले जडीबुटी, परम्परागत वस्तु र सांस्कृतिक सामग्री बेचेर आर्थिक गतिविधि चलाइरहेका छन् ।

फागुनको अन्तिम सातादेखि हिमाली जिल्ला संखुवासभामा तापक्रम बढ्न थाल्छ । तराई झरेका भोटखोलाका बासिन्दा फेरि तीन महिनाको व्यापारिक यात्रा समाप्त गरी आफ्नै हिमाली गाउँ फर्किन्छन् । ‘भोटखोलाका बासिन्दाको बसाइँसराइ मौसमसँगको जुधाइ मात्र होइन, जीविकोपार्जनको कुशल रणनीति पनि हो,’ भोटखोला गाउँपालिका–१ का अध्यक्ष नुर्बु भोटेले भने, ‘चिसो मौसमले चुनौती दिए पनि परम्परा र जडीबुटी व्यापारले उनीहरूको जीवनयापन सम्भव बनाइदिएको छ ।’

हिउँदमा तराई झर्ने परम्परा कति वर्षसम्म चलिरहला भन्ने निश्चित नभएको पनि उनले बताए । ‘अहिलेका लागि काबेला झर्ने मात्र उनीहरूको जीविकोपार्जन, संस्कृतिको निरन्तरता र चिसोबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय बनेको छ,’ उनले भने ।

दीपेन्द्र

Link copied successfully