न्वागी खाने पर्वको रुपमा परिचित चासोक ताङ्नाममा स्थानीय लिम्बू समुदाय परम्परागत पोसाकमा सजिएर केलाङमा रमाए।
विराटनगर — किरात–लिम्बू समुदायले महत्वपूर्ण पर्व चासोक ताङ्नाम बुधबार विराटनगरमा विविध सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ।
किरात याक्थुङ चम्लुङको आयोजना भएको न्वागी खाने पर्वको रुपमा परिचित चासोक ताङ्नाममा स्थानीय लिम्बू समुदाय परम्परागत पोसाकमा सजिएर केलाङमा रमाए। कार्यक्रममा सहभागी कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले चाड–पर्वहरूले राष्ट्रिय एकता, राष्ट्रियता र स्वाधीनतालाई बलियो बनाउने उल्लेख गर्दै सांस्कृतिक विविधता नै नेपालको वास्तविक शक्ति भएको टिप्पणी गरे।
लिम्बू भाषामा ‘चासोक’ भनेको नयाँ धान र ‘ताङ्नाम’ भनेको पूजा/उत्सव भन्ने अर्थ हुने भन्दै उनले प्रकृति, पुर्खा र उब्जनीप्रतिको कृतज्ञता व्यक्त गर्ने यो पर्वले समाजमा सामूहिकता र सहअस्तित्वको सन्देश प्रवाह गर्ने बताइन्छ।
