पूर्वी पहाडमा बाहुल्य रहेका राई, लिम्बू, सुनुवार र याख्खा जातिले मङ्सिर पूर्णिमाको दिनलाई चासोक तङनाम अर्थात् उधौली पर्वका नामले पुकार्दै मनाउने चलन छ ।
पाँचथर — आज उधौली पर्व । किरात समुदायको बाहुल्यता भएका जिल्लाहरूमा उल्लासमय तरिकाले मनाइँदै छ ।
यो पर्वलाई किरात समुदायअन्तर्गतका लिम्बू जातिले चासोक तङनाम अर्थात् ‘न्वागी पर्व’ का रूपमा मनाउँछन् । यस अवसरमा पाँचथरसहित पूर्वका विभिन्न भूभागमा यो पर्वका अवसरमा मौलिक र सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ ।
विशेषतः यो पर्व पूर्वी पहाडमा बाहुल्यता रहेका राई, लिम्बू, सुनुवार र याख्खा जातिले मङ्सिर पूर्णिमाको दिनलाई चासोक तङनाम अर्थात् उधौली पर्वका नामले पुकार्दै मनाउने चलन छ ।
आजकै दिन हिन्दु धर्मावलम्बीले धान्य पूर्णिमाको संज्ञा दिँदै गोठ पूजा गर्ने चलन छ । प्रकृति पूजकका रूपमा चिनिने किरात समुदायले आजकै दिन नयाँ अन्न चढाएर न्वागी खाने गर्दछन् । चासोक तङनामका अवसरमा बिहीबार बिहानैदेखि फिदिमस्थित सुम्हालुङ मन्दिर, सिलौती, लव्रेकुटी लगायतका स्थलहरूमा पूजा–आराधना सहित नयाँ अन्न विधिवत् रूपमा चढाएर न्वागी पूजा गर्नेको भीड लागेको छ ।
यस पर्वका अवसरमा पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा र तेह्रथुमसहित राजधानीका काठमाडौँ, ललितपुर र आदिवासी–जनजातिको बसोबास रहेका विदेशी भूभागमा समेत न्वागी पूजा, चियापान, सांस्कृतिक प्रतियोगिता, झाँकी प्रदर्शन र वनभोज खाने कार्यक्रम आयोजना हुने किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष चन्द्रकुमार आङदेम्बे बताउँछन् ।
