दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई भुवनेश्वर प्रविधि पुरस्कार

वन, वातावरण, पर्यावरण, जैविक विविधता, प्रकृति–संस्कृति संरक्षण गर्दै दिगो विकासलगायतका विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै स्थानीय तहमध्ये दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई सम्मान गर्ने भएको हो ।

मंसिर १७, २०८२

डम्बरसिं राई

Diktel Rupakot Majhuwagadhi Municipality receives Bhubaneswar Technology Award

खोटाङ — नेपाल विज्ञान तथा प्रविधि–प्रतिष्ठान नाष्टले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई भुवनेश्वर प्रविधि पुरस्कार-२०८२ बाट सम्मान गर्ने भएको छ । 

वन, वातावरण, पर्यावरण, जैविक विविधता, प्रकृति–संस्कृति संरक्षण गर्दै दिगो विकासलगायतका विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै स्थानीय तहमध्ये दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई सम्मान गर्ने भएको हो ।

नाष्टका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मंसिर १२ गते बसेको ४९ औं प्राज्ञसभाले उत्कृष्ट स्थानीय तहको रूपमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई छनौट गरेको प्रमुख तीर्थराज भट्टराईले बुधबार पत्रकार सम्मलेन गरी जानकारी गराएका हुन् । उक्त सम्मान ग्रहणका लागि मंसिर २० गते काठमाडौं बोलाइएको भट्टराईले सुनाएका छन् । 

‘वन, वातावरण, पर्यावरण, जैविक विविधता, प्रकृति–संस्कृति संरक्षण गर्दै दिगो विकासलगायतका विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै नाष्टले सम्मान गर्ने निर्णय गरेकोमा खुसी लागेको छ,’ भट्टराईले भने, ‘सम्मान ग्रहणका लागि आगामी मंसिर २० गते काठमाडौं बोलाएको छ, कामको मूल्यांकनप्रति नाष्टलाई धन्यवाद दिन चाहन्छु ।’

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully