दुमी राई फक्सिकिमको अधिवेशन सुरु

अधिवेशनको उद्घाटन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले ब्यानर वाचन गर्नुका साथै मुन्दुमी कुबी (पित्रे धामी)ले तीन चुल्हा पुजेर गरेका थिए ।

मंसिर १६, २०८२

डम्बरसिं राई

Dumi Rai Faksim's convention begins

What you should know

खोटाङ — दुमी राई फन्सिकिमको ८ औं राष्ट्रिय अधिवेशन सुरु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा मंगलबारबाट अधिवेशन सुरु भएको हो ।

दुई दिने अधिवेशनका लागि देश–विदेशमा रहेका दुमी राईहरू भेला भएका छन् । नेपालसहित भारतको सिक्किम र दार्जिलिङ, हङकङ, अमेरिका र बेलायतका दुमी किरात राईहरू खार्मीस्थित रूधालुङमा जम्मा भएका हुन् ।

उक्त अधिवेशनले नयाँ नेतृत्व चयन, आर्थिक तथा सांगठनिक प्रतिवेदन पारित र भावी रणनीति निर्माण गर्ने आयोजक दुमी किरात राई फन्सिकिमकी महासचिव तेजमाया मुरह दुमी राईले बताइन् । किरात समुदायको उभौलीको अवसर पारेर उक्त अधिवेशन आयोजना गरिएको हो । 

अधिवेशनको उद्घाटन दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले ब्यानर वाचन गर्नुका साथै मुन्दुमी कुबी (पित्रे धामी)ले तीन चुल्हा पुजेर गरेका थिए । 

अधिवेशन उद्घाटनमा साकेला सिली, मारुनी, कुबी तथा तयातङबाट मुन्दुमी बखान प्रदर्शन गरिएको छ । नगर प्रमुख भट्टराईले खोटाङ किरात भूमि भएकाले नगरपालिकाको लेटर प्याडमा समेत किरात लिपि समावेश गरिएको बताए । किराती संस्कृति संरक्षणमा नगरपालिकाले भूमिका निर्वाह गरेकोसमेत उनले बताए ।

करिब ३२ वर्ष लगाएर तयार पारिएको दुमी किरात राईहरूको वंशावली सङ्कलन, लेखन तथा सम्पादन गर्ने संस्कृतिविद् चतुरभक्त राईलाई फन्सिकिमले फेटा बाँधेर ताम्रपत्रसहित सम्मान गरेको छ । उक्त कार्यक्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राई, साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्ष वीरकाजी राई, खार्मीका वडाध्यक्ष इखबहादुर राई, जालपाका वडाध्यक्ष दानबहादुर राई, नेर्पाका वडाध्यक्ष माधव राई लगायत संस्कृतिविद्को उपस्थिति छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully