नेकपा एसबाट जिल्ला समन्वय समिति प्रमुख भएका लामा एस र माओवादी केन्द्रसमेतले नेपाली कम्युनिष्ट पार्टी बनाएपछि एमालेमा फर्किएका हुन् ।
ताप्लेजुङ — जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा एमालेमा प्रवेश गरेका छन् । मंगलबार दिउँसो एमाले पार्टी कार्यालयमा पुगेका उनलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोलगायतले खादा, माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
लामासँगै अन्य कार्यकर्ता पनि पार्टी प्रवेश गरेको जनाइएको छ । नेकपा एसबाट जिल्ला समन्वय समिति प्रमुख भएका लामा एस र माओवादी केन्द्रसमेतले नेपाली कम्युनिष्ट पार्टी बनाएपछि एमालेमा फर्किएका हुन् । ‘मलाई यहाँ आउँदै गर्दा, घर फर्कंदै गर्दा कतिपयले तपाईंको पद के हुन्छ भनेर सोधेका थिए,’ लामाले भने, ‘पद गए जाओस् भनेको छु ।’
उनले विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहेको बताए । ‘अनेरास्ववियु, तत्कालीन माले हुँदै यसअघि पनि एमालेमा रहेको र समय परिस्थितिअनुसार जेन-जी आन्दोलनपछि राष्ट्रियता, लोकतन्त्रप्रतिको चिन्तन एमालेमा पाएकाले यसैमा फर्किएका हुँ,’ कार्यक्रममा उनले भने ।
उनले आफूले एमालेमा कुनै पद नमागेको दाबी गरे । लामा एमाले विभाजनपछि नेकपा एसको जिल्ला अध्यक्षसमेत भएका थिए ।
नेकपा एसका जिल्ला अध्यक्ष दुर्गाहाङ श्रेङचोङबाङ, केन्द्रीय सदस्यहरू खेम वनेम, निता सिवालगायत एकता प्रक्रियामा सहभागी भइसकेका छन् । उनीहरू विराटनगरमा भएको एकतासभामा पनि सहभागी थिए ।
