निर्वाचन सुरक्षाका विषयमा तीन जिल्लाका सुरक्षा अधिकारीको संयुक्त छलफल

आसन्न प्रतिनिधिसभा निर्वाचन र सुरक्षा सतर्कताका विषयमा ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जिल्लाका सुरक्षा अधिकारीको भेला गुफापोखरीमा भएको हो।

मंसिर १४, २०८२

आनन्द गौतम

Joint discussion between security officers from three districts on election security

What you should know

ताप्लेजुङ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र शान्ति–सुरक्षाका विषयमा सीमावर्ती तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको छ। ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जिल्लाका सुरक्षा अधिकारीको भेला गुफापोखरीमा भएको हो।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईका अनुसार फागुन २१ को निर्वाचन सम्पन्न गर्न सुरक्षाका हिसाबले अपनाउनुपर्ने रणनीतिका विषयमा तीनै जिल्लाका सुरक्षा अधिकारीबीच छलफल भएको हो।

‘निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्नका लागि अपनाउनुपर्ने रणनीतिका विषयमा छलफल गर्‍यौँ,’ सेढाईले भने, ‘जनजी आन्दोलनका समयमा फरार कैदी, हतियार नियन्त्रणका लागि सूचना आदान–प्रदान गर्ने विषयमा पनि गहन छलफल गरेका छौँ।’ बैठकले देखिने गरी परिणाम हासिल हुने अपेक्षा तीनै जिल्लाका सुरक्षा अधिकारीले गरेका छन्।

चीनसँग सिमाना जोडिएका ताप्लेजुङ र संखुवासभा तथा तराईसँग सिमाना जोडिएको तेह्रथुमको संगमस्थल गुफापोखरी हो। छलफलमा ताप्लेजुङबाट प्रमुख जिल्ला अधिकारीसहित सेनानी उमेश खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठक, प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय, प्रहरी निरीक्षक जटाशंकर यादव र सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काको सहभागिता रहेको थियो। 

तेह्रथुमबाट प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, सेनानी कृष्ण तिवारी, प्रहरी नायब उपरीक्षक लिलाराज लामिछाने, सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज विष्ट, प्रमुख अनुसन्धान अधिकृत डिल्लीराम भट्टराई र सहायक प्रमुख जिल्ला अधिकारी विक्रम लिम्बू सहभागी थिए।

संखुवासभाबाट प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, सेनानी नवराज बस्नेत, प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनाली, सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, प्रमुख अनुसन्धान अधिकृत रामअचल शाह र सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको सहभागिता रहेको थियो। 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully