कोशीका दुई गन्तव्यमा ‘क्वालिटी टुरिजम’ अभियान

ग्राहक सेवा, हाइजिन र पर्यटन–मैत्री व्यवहार तालिमले स्थानीय होटल तथा होमस्टे व्यवसायीलाई पेसागत सुधारतर्फ प्रेरित गरेको छ।

मंसिर १३, २०८२

कान्तिपुर संवाददाता

'Quality Tourism' campaign in two destinations in Koshi

What you should know

काठमाडौँ — नेपाल पर्यटन बोर्डले समुदाय–आधारित पर्यटन व्यवसायीलाई लक्षित गर्दै कोशी प्रदेशका दुई गन्तव्यमा ‘क्वालिटी टुरिजम’ अभियान सञ्चालन गरेको छ ।

कोशीका प्रमुख पर्यटन क्षेत्र—भेडेटार र अमाहा सिमसार—मा होमस्टे तथा हाइजिनसम्बन्धी तालिम सम्पन्न भएको छ । अमाहा सिमसार, बराहक्षेत्र–५, सुनसरीमा सम्पन्न ‘होमस्टे व्यवस्थापन तथा पर्यटन–मैत्री सेवा क्षमता विकास’ तालिमले स्थानीयलाई होमस्टेको सम्भावना, दर्ता प्रक्रिया, सेवा संस्कार, आतिथ्य सत्कार, सांस्कृतिक प्रस्तुति, विदेशी पर्यटकसँग व्यवहार, अंग्रेजी–हिन्दी संवाद, तथा डिजिटल प्रमोशनजस्ता सीपमा व्यावहारिक ज्ञान प्रदान गरेको बोर्डले जनाएको छ ।

पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त प्रयासमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले श्वाती संस्थासँगको सहकार्यमा कार्यक्रम भएको हो ।

उद्घाटनकै दिन श्वाती र अमाहा सामुदायिक वन समितिबीच भएको सहकार्य सम्झौताले यस क्षेत्रको होमस्टे पर्यटनलाई औपचारिक रूपमा अगाडि बढाउने आधार तयार गरेको स्थानीयले बताएका छन्।

श्वाती संस्थाका अध्यक्ष सङ्गीता निरौलाले प्रशिक्षणको शुभारम्भमा स्थानीय पर्यटन बढाउन सेवा गुणस्तर अत्यावश्यक भएको उल्लेख गरिन्। सामुदायिक वन समिति र वडा कार्यालयले कम्युनिटी होमस्टे दर्ता प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएपछि अमाहा सिमसार क्षेत्रमा पर्यटन विकासले नयाँ दिशा लिने विश्वास व्यक्त गरिएको छ।

उता, धनकुटाको भेडेटार, सांगुरीगढी–६ मा आयोजित ५ दिने ‘ग्राहक सेवा, हाइजिन र पर्यटन–मैत्री व्यवहार’ तालिमले स्थानीय होटल तथा होमस्टे व्यवसायीलाई पेशागत सुधारतर्फ प्रेरित गरेको छ। गाउँपालिका अध्यक्ष जितेन्द्र राईले भारतबाट ठूलो संख्यामा आउने पाहुनालाई पुन-पुन आकर्षित गर्न सेवा स्तर उकास्नु अनिवार्य रहेको बताए।

होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुम्बा राज लिम्बूले होमस्टे विस्तार तीव्र भए पनि सीप र ज्ञान अभाव रहेको उल्लेख गर्दै तालिमले त्यो कमी पूर्ति गरेको बताए। 

भेडेटार प्रहरीले पर्यटक सुरक्षा बढाउन टुरिस्ट पुलिस आवश्यक रहेको धारणा राखेको थियो । कोशी पर्यटन वर्ष २०८२ का सह–संयोजक भविश श्रेष्ठका अनुसार व्यवहारजन्य चुनौती कम गर्न यस्ता कार्यक्रम अत्यावश्यक भइसकेका छन्। तालिमपछि सहभागीहरूले भान्सादेखि कर्मचारीको व्यक्तिगत हाइजिनसम्म सुधार गर्ने प्रतिबद्धता जनाएका थिए । 

साथै गाउँपालिका र होटल एसोसिएसनले सिकाइको अनुगमन गर्न औपचारिक संरचना बनाउने सहमति भएको छ, जसले भेडेटारमा गुणस्तरीय पर्यटन सेवाको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

दिगो पर्यटन परियोजनाले यस्ता तालिममार्फत देशभर २ हजार ५ सय दिगो रोजगारी सिर्जना र ५ हजार जनाको सीप अभिवृद्धिको लक्ष्य राखेको छ। 

परियोजना प्रबन्धक धर्मराज दवाडीका अनुसार अमाहा सिमसारमा कम्युनिटी होमस्टे तयारी र भेडेटारमा सेवागुणस्तर सुधारप्रति स्थानीयको प्रतिबद्धताले कोशी प्रदेशको पर्यटन विकासमा नयाँ ऊर्जा थपेको छ। उनले स्थानीय समुदाय नै पर्यटन विकासका वास्तविक अग्रदूत बन्दै गएको बताए ।

कान्तिपुर

Link copied successfully