शिविरमा एकै दिन ३ सयभन्दा बढीले सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ ।
What you should know
संखुवासभा — जिल्ला अस्पताल संखुवासभामा शुक्रबार आयोजना गरिएको नि:शुल्क विशेष स्वास्थ्य सेवा शिविरमा संखुवासभा र छिमेकी जिल्ला भोजपुरका सर्वसाधारणलाई ठूलो राहत पुगेको छ ।
शिविरमा एकै दिन ३ सयभन्दा बढीले सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । शिविरमा नशा तथा मानसिक रोगका ३०, नाक, कान र घाँटीका ८२ र छालाका ७४ जना रोगीले विशेषज्ञ सेवा पाएका थिए ।
शिविरमा वरिष्ठ नशा तथा मानसिक रोग विशेषज्ञ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव डा रोशन पोखरेल, कोशी अस्पताल विराटनगरका नाक, कान तथा घाँटी विशेषज्ञ डा रौनक दाहाल, सोही अस्पतालका छाला रोग विशेषज्ञ डा असित घिमिरेलगायतका चिकित्सकले सेवा प्रदान गरेका थिए । एकै स्थानमा विशेषज्ञ सेवा उपलब्ध हुँदा थोरै समयमै धेरै विरामीको उपचार सम्भव भएको अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल संखुवासभाका प्रमुख डा सन्तोष देवका अनुसार शिविरमा संखुवासभासँगै भोजपुरका उत्तरी क्षेत्रका बिरामीले समेत सेवा लिएका छन् । 'विशेषगरी दुर्गम बस्तीका वृद्धवृद्धा, महिला तथा बालबालिकाले नजिकै विशेषज्ञ भेट्ने अवसर पाए,' उनले भने, 'नशा तथा मानसिक समस्या, छाला रोग, नाक, कान,घाँटीसम्बन्धी रोगका धेरै बिरामीले सेवा लिए ।' उनले नियमित रुपमा यस्ता कार्यक्रमले जनस्वास्थ्यमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने बताए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले शिविरका कारण सामान्यदेखि जटिल प्रकृतिका बिरामीलाई पनि सहज उपचार उपलब्ध भएको बताए । 'शिविरले जिल्ला बाहिर उपचारका लागि आर्थिक बोझ बोक्नुपरेका धेरै परिवारलाई राहत दिएको छ,' उनले भने, 'विशेषगरी टाउको दुख्ने, छालामा आउने चिलाउने, एलर्जी, बालबालिकामा देखिने छाला तथा कानसम्बन्धी समस्या, र वृद्धवृद्धामा देखिने मानसिक स्वास्थ्य चुनौती भएकाहरूले प्रत्यक्ष लाभ पाए ।'
'स्वास्थ्य शिविरमा आएको भीडले ग्रामीण तहमा यस्ता कार्यक्रमको आवश्यकता झन् स्पष्ट पारेको देख्यौं,' उनले भने, 'जिल्ला अस्पतालमा हामी आगामी दिनमा पनि दीर्घरोग, महिला स्वास्थ्य तथा बाल स्वास्थ्यसम्बन्धी थप विशेषज्ञ सेवा शिविर सञ्चालन गछौं ।'
