मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु, अर्का घाइते

दुर्घटनामा गम्भीर घाइते भएका चालककाे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएकाे हाे ।

मंसिर १२, २०८२

एलिना राई

Driver dies, another injured in motorcycle accident

धरान — धरानमा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कोशी राजमार्ग अन्तरगत धरान उपमहानगरपालिका–८ तिनकुनेमा धरानबाट इटहरीतर्फ जाँदै गरेको प्र १–०३–००१ प १३२४ नम्बरको मोटरसाइकलले प्र १–०२–००१ ख ८७५७ नम्बरको किनारमा रोकिराखेकाे ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक र सवार दुवै जना गम्भीर घाइते भएका थिए । दुवै जनालाई प्रहरीले उद्धार गरी उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

उपचारको क्रममा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी भीषणबाबू राईले बताए ।

मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–४ बस्ने मोटरसाइकल चालक २५ वर्षीय मन्जिल लिम्बू रहेको डिएसपी राईले बताए । मोटरसाइकलमा पछाडि सवार इटहरी–५ बस्ने ३२ वर्षीय अमित राईको उपचार भइरहेकाे छ ।

ट्रकचालक तेह्रथुम फेदाप बस्ने २७ वर्षीय गणेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतक मोटरसाइकल चालक लिम्बूको शव बिपी प्रतिष्ठानको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully