ताप्लेजुङ पुगेर हर्क साम्पाङले भने - मै प्रधानमन्त्री हुन दल खोलेको हुँ

बिहीबार ताप्लेजुङमा भएको कार्यक्रममा शिक्षक, कर्मचारी, पत्रकारलाई आफ्नो पार्टीको सदस्यता नदिने भन्दै साम्पाङले आफू प्रधानमन्त्री भएपछि सातामा तीन दिन स्कुल लगाएर सैद्धान्तिक ज्ञान दिने र चार दिन अभ्यास गराउने बताए ।

मंसिर ११, २०८२

आनन्द गौतम

Hark Sampang, who reached Taplejung, said - I have launched a party to be the Prime Minister.

What you should know

ताप्लेजुङ — श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरानका मेयर हर्क साम्पाङले आफैं प्रधानमन्त्री हुन पार्टी खोलेको बताएका छन् । जेन-जी आन्दोलनपछि प्रधानमन्त्री हुन भन्दै उनी काठमाडौं गएका थिए ।

त्यसको बचाउ गर्दै साम्पाङले देश ढलिरहेको बेला, नेताहरु भागाभाग भएको बेला यो देश बचाउँछु भनेर काठमाडौं जाने आफूमात्रै भएको दाबी गरे ।

बिहीबार ताप्लेजुङमा भएको कार्यक्रममा शिक्षक, कर्मचारी, पत्रकारलाई आफ्नो पार्टीको सदस्यता नदिने भन्दै उनले आफू प्रधानमन्त्री भएपछि सातामा तीन दिन स्कुल लगाएर सैद्धान्तिक ज्ञान दिने र चार दिन अभ्यास गराउने बताए ।

'धरानका बालबालिकाले खोर्सानी कहाँ फल्छ कसरी फल्छ जान्छैनन्,' उनले थपे, 'सहरका विद्यार्थी त्यसरी नै पढेर आएका छन्, व्यवहारिक ज्ञान छैन, सैद्धान्तिक ज्ञानले केही हुँदैन ।'

उनले आफू टालाटुली सरकारमा नजाने भन्दै आफ्नो पार्टीलाई बहुमत दिन अपिल गरे । विदेशीको इसारामा नचल्ने, शिक्षामा व्यवहारिक परिवर्तन ल्याउने, माटो र भूमिको पक्षमा काम गर्ने भएकाले आफूलाई हेरेर भोट दिन उनले अपिल गरेका थिए । 

कुलमान घिसिङलाई कटाक्ष गर्दै उनले बिजुली बालेर मात्रै नहुने, देश र माटोको माया गर्नु पर्ने बताए । उनले कुलमान घिसिङलाई एमसीसीको पक्षधर भएको आरोप लगाए । घिसिङलाई हेरेर केही पहिचान पक्षधरहरु पनि पछि लागेको भन्दै उनले फर्कन आग्रह गरे । दिनभरि ग्यारेजमा कालो लगाएर ग्रिज, ग्यारेजमा काम गर्नेको महत्त्व नभएको तर कुर्सीमा बस्ने इन्जिनियरलाई मान्ने हाम्रो समाज कहिल्यै उँभो नलाग्ने दाबी गरे । 

सुकिलो, मुकिलो भएर हिँड्ने मान्छे ठूलो, काम गर्ने मान्छेलाई हेप्ने समाजमा परिवर्तन गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully