निर्माणस्थलमा खटिएका कामदारको संख्या थोरै भएकाले अझै पनि अस्पताल भवन बन्छ भन्नेमा विश्वस्त नभएको जग्गादाताले गुनासो गरेका छन् ।
What you should know
खोटाङ — हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित अलपत्र अवस्थामा छोडिएको निर्माणाधीन नगर अस्पताल भवनको निर्माण कार्य पुनः सुरु भएको छ । विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) र जग्गाको अवस्था नमिलेकाले निर्माणमा ढिलाइ भएको बताइएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार भवन निर्माण सुरु भइसकेपछि डीपीआर परिवर्तन गरिएको हो । उक्त भवन थालनीमै पिलरहरू बाङ्गिएको र त्यसलाई भत्काएर अर्को पिलर बनाउन लगाइएको गिरीले सुनाए । भवनको तल्लोपट्टिको ६ वटा पिलर बाङ्गिएपछि भत्काएर बनाउन लगाइएको हो ।
भवन निर्माण सुरु गरिए पनि पार्किङ, गेट, शव गृह, क्यान्टिन, फार्मेसी लगायतको संरचना नमिलेपछि डीपीआर परिवर्तन गर्नु परेको गिरीको भनाइ छ । ‘भवन निर्माण सुरु गरिए पनि अस्पताललाई आवश्यक पर्ने पार्किङ, गेट, शव गृह, क्यान्टिन, फार्मेसीका लागि संरचना निर्माण गर्न नमिल्ने भएकाले डीपीआर परिवर्तन गरिएको हो,’ गिरीले भने ।
गिरीका अनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ३ सय ९६ वटा अस्पताल भवन एकसाथ शिलान्यास गरेको भवनमध्ये उक्त भवन अलपत्र परेको थियो । उक्त भवनको ठेक्का नमुना हिमालयन जेवी विराटनगरले लिएको थियो । संघीय सरकारको ११ करोड ९९ लाख १९ हजार ६ सय २९ रुपैयाँ (भ्याट बाहेक) बजेटमा २०८० साउन ७ गतेसम्म सक्ने गरी २०७८ साउन ७ गते उक्त निर्माण कम्पनीले सम्झौता गरेको थियो ।
उक्त भवनको बेसको पिलर मात्र उठाएको छ । अहिलेसम्म करिब ३४ प्रतिशत बराबरको ४ करोड भुक्तानी भएको हलेसी तुवाचुङ नगरपालिकाका लेखा अधिकृत नवराज कटवालले बताए । उक्त रकम सुरुको रनिङ बिलको भुक्तानी गरिएको हो । त्यसपछि कामै अलपत्र परेपछि भुक्तानी गरिएको छैन ।
निर्माणमा संलग्न राजु गुरागाईंले भने डीपीआर परिवर्तन गर्नुपर्ने भएकाले ढिलाइ भएको बताए । ‘डीपीआर र जग्गा मिलेन,’ उनले भने, ‘जग्गा अनुसारको डीपीआर निर्माण गरेर भर्खरै काम सुरु गरेका छौं ।’
निर्माणस्थलमा खटिएका कामदारको संख्या थोरै भएकाले अझै पनि अस्पताल भवन बन्छ भन्नेमा विश्वस्त नभएको जग्गादाताले गुनासो गरेका छन् । निर्माणस्थलमा ५–६ जना कामदार मात्र भएकाले बेलामा काम सकिनेमा विश्वास नलागेको जग्गादाता प्रकाशचन्द्र गिरीले बताए ।
अस्पताल बन्छ भनेर जग्गा दिएको तर यो बेलासम्म पनि काम नसकिँदा दुःख लागेको अर्का जग्गादाता गोपाल गिरीले बताए । ‘हामीले त हस्पिटल बन्छ भनेर पो जग्गा दिएको हो त, यसरी अलपत्र पर्छ भनेर दिएको होइन,’ प्रकाशचन्द्रले भने, ‘ढिलासुस्ती गरेको बारे नगरप्रमुख, उपप्रमुख र वडाअध्यक्षलाई समेत ध्यानाकर्षण गराइरहेका छौं तर बन्ने छनक देखिएन ।’
उक्त अस्पताल भवन निर्माणका लागि जग्गादाताहरूले ९ रोपनी ३ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । यसमध्ये प्रकाशचन्द्र गिरीले १ रोपनी ५ आना, हरिश्चन्द्र गिरीले ५ आना, दुर्गाबहादुर केसीले २ रोपनी ५ आना, रत्न राईले ५ आना, गोपाल गिरीले ३ रोपनी ५ आना, प्रेमबहादुर बस्नेतले ८ आना, गौरीमाया विश्वकर्माले ७ आना जग्गा निःशुल्क दिएका हुन् ।
उक्त भवन बेलामा नबनेपछि पटक–पटक निर्माण अवधि थपिँदै आएको छ । पछिल्लो समय २०८२ असार २९ गतेको कार्यपालिका बैठकले तेस्रोपटक २०८३ साउन ७ गतेसम्मका लागि म्याद थप गरेको छ । उक्त अवधिभित्र काम सक्ने गुरागाईंले बताए ।
