फलफूल प्रशोधन केन्द्र सञ्चालनमा आएन

प्याकेजिङ गर्न बोतल आवश्यक परेको र उपकरणका लागि चालु आर्थिक वर्ष १७ लाख बजेट विनियोजन गरी ठेक्कामार्फत खरिद प्रक्रिया बढाइएको नगरपालिकाले जनाएको छ ।

मंसिर ९, २०८२

डम्बरसिं राई

Fruit processing center not operational

खोटाङ — खोटाङ–दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा दुई वर्षअघि निर्माण सुरु गरिएको फलफूल प्रशोधन केन्द्र अझै सञ्चालनमा आएको छैन ।

किवी लगायतका विभिन्न फलफूल प्रशोधन गर्ने उद्देश्यले २०८०/८१ मा थालिएको प्रशोधन केन्द्र अझै सञ्चालनमा आउन नसकेको हो । केन्द्रका लागि संघीय सरकारको ५० लाख समपूरक अनुदान र नगरपालिकाको ५० लाख गरी एक करोड बजेट मध्ये ८४ लाख १२ हजार पाँच सय ९७ रूपैयाँमा २०८०/८१ मा भवनको ठेक्का लागेको थियो । उक्त भवन सुदेवी कन्स्ट्रक्सन प्रालिले निर्माण गरी बुझाइसकेको छ । गत आर्थिक वर्ष पनि प्रदेश सरकारको २० लाख रूपैयाँ बजेटबाट भवनको संरचनामै खर्च भएको थियो । उक्त कामको ठेक्का एसआर कन्ट्रक्सनले लिएको थियो । 

भवन र फलफूल प्रशोधन गर्ने उपकरण तयारी भइसके पनि प्याकेजिङ गर्न बोतल आवश्यक परेको र त्यसका लागि बोतल बनाउने उपकरणका लागि चालु आर्थिक वर्ष १७ लाख बजेट विनियोजन गरी ठेक्का मार्फत खरिद प्रक्रिया बढाइएको नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले बताए । उक्त उपकरण आउनासाथ प्रशोधन केन्द्र सञ्चालनमा आउने उनको भनाइ छ ।

‘भवन र फलफूल प्रशोधन गर्ने उपकरण तयारी भइसकेको छ तर प्याकेजिङ गर्न बोतल आवश्यक परेकाले बोतल बनाउने मेसिनका लागि चालु आर्थिक वर्ष १७ लाख बजेट विनियोजन गरी ठेक्का मार्फत खरिद प्रक्रिया बढाइएको छ,’ जैसीले भने, ‘त्यो मेसिन आइपुग्नासाथ प्रशोधन केन्द्र सञ्चालनमा आउँछ ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully