पार्टी छाडेको भन्दै चौदण्डीगढीका नगरप्रमुखले गरे वडाध्यक्षलाई पदमुक्त

नगरप्रमुख कालुमान लामाले एमालेबाट निर्वाचित वडाध्यक्ष केशव अधिकारीलाई पार्टी छाडेको आरोप लगाउँदै पदमुक्त गरेको पत्र थमाएका हुन् ।

मंसिर ९, २०८२

राकेश नेपाली

Chaudandigadi mayor dismisses ward chair for leaving party

What you should know

उदयपुर — पार्टी छाडेकाे भन्दै चौदण्डीगढीका नगरप्रमुखले एक वडाध्यक्षलाई पदमुक्त गरेकाे पत्र थमाइदिएका छन् ।

चौदण्डीगढी नगरप्रमुख कालुमान लामाले वडा ७ का  अध्यक्ष केशव अधिकारीलाई पदमुक्त गरेका हुन् । 

नगरप्रमुख लामाले एमालेबाट निर्वाचित वडाध्यक्ष अधिकारीलाई पार्टी छाडेको आरोप लगाउँदै मंसिर ५ मा पदमुक्त गरेको पत्र थमाएका हुन् । नगरप्रमुख लामा पनि एमालेबाटै निर्वाचित हुन् । 

पत्रमा अधिकारीले पार्टी परित्याग गरेको र सो निर्णय पार्टी कमिटीले स्वीकृत गरिसकेकाले ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम वडाध्यक्षको रूपमा स्वीकार नगर्ने’ निर्णय भएको उल्लेख गरिएको छ ।

जेनजी आन्दोलनको क्रममा तत्कालीन सरकारले युवा विद्यार्थीको ज्यान लिएको भन्दै वडाध्यक्ष अधिकारीले फेसबुकमा स्टाटस लेख्दै एमाले छाडेको घोषणा गरेका थिए ।

एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिले दल छाडेपछि कानुन अनुसार कारबाही गरिएको नगरप्रमुख लामाको दाबी छ । ‘दल छाडेको घोषणा गरे पछि कानुन अनुसार कारवाही गरिएको हो,’ नगरप्रमुख लामाले भने । 

नगरप्रमुख लामाले अधिकारीलाई बर्खास्त गरेर वडासदस्य बलराम मगरलाई कार्यवाहकको जिम्मेवारी तोकेका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने निर्वाचन आयोगको निर्णयपछि मात्रै जनप्रतिनिधिको पद खारेज हुने बताए । ‘निर्वाचित भएको दल त्याग गरेपछि सम्बन्धित पार्टीले निजको पद खारेजीका लागि निर्णयसहित आयोगमा सिफारिस गर्न सक्छ, त्यसउपर आयोगले निर्णय गर्ने हो तर नगरपालिका आफैले होइन,’ उनले बताए ।

वडाध्यक्ष अधिकारीले आफू काम विशेषले जिल्ला प्रशासन कार्यालय गएको मौका छोपेर बस्ने कुर्सी र नेमप्लेट समेत नगरप्रमुखले लगेको बताए । उनले भने, ‘मेरो कुर्सी र नेमप्लेट समेत मेयर साबले नगर प्रहरी लगाएर उठाएका छन् ।’

उनले नगरप्रमुख लामाले पदमुक्त गरेको पत्र दिएर कुर्सी समेत उठाएर लगेको भन्दै ईलाका प्रहरी बेल्टारमा चोरी सम्बन्धी उजुरी दिएका छन् ।

वडाध्यक्ष अधिकारीले नगरप्रमुख लामाले आफुमाथि शक्तिको दुरुपयोग र व्यक्तिगत रिसिइबीले नगरपालिकाको लेटरप्याड दुरुपयोग गरेकाे बताए ।

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully