जनही नगद ५ हजार सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।
संखुवासभा — घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाले जिल्लाका उत्कृष्ट ६ जना उद्यमीहरूलाई सम्मान गरेको छ ।
मंगलबार आयोजित कार्यक्रममा होहोरेम अल्लो तथा सुति कपडा उद्योगकी दिलमाया राई, याफु नमुना कृषि तथा पशु फर्मका जितेन्द्र राई, सिद्धकाली मौरीपालन उद्योगका रिन्जी शेर्पा, स्वरोजगार वागबानी पशुपंक्षी तरकारी व्यवसाय तथा उत्पादन केन्द्रका देवबहादुर कटुवाल, पांमाली सुकुटी तथा अचार उद्योगका रोहित राई र मनकामना एकीकृत कृषि तथा पशुपंक्षी अनुसन्धान केन्द्रका ठाकुरबहादुर ढकाल सम्मानित भएका हुन् ।
उनीहरूलाई जनही नगद ५ हजार सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो । उद्यमीहरूले आफ्ना अनुभव तथा स्थानीय उत्पादनको सम्भावना, बजार विस्तारका चुनौती र सरकारी समन्वयका आवश्यकता बारेमा बताए । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख प्रेमचन्द्र राईले जिल्लामा उद्यमशीलता विकासलाई निरन्तर बलियो बनाउँदै युवालाई आत्मनिर्भर बनाउन प्रतिबद्ध रहेको बताए ।
कोशी प्रदेशसभा सदस्य विदुरकुमार लिङ्थेपले उद्योग दिवसको शुभकामना व्यक्त गरे । स्थानीय उत्पादन तथा कृषि आधारित उद्यमहरू जिल्लाको आर्थिक विकासका मुख्य आधार भएको बताए । उनले राज्यले उद्यमशीलता प्रवर्द्धनका लागि नीतिगत सहयोग अझ प्रभावकारी बनाउनु आवश्यक रहेको उल्लेख गरे ।
