छनोट समितिको बैठकले पोखरेललाई उक्त पुरस्कार दिने निर्णय गरेको संखुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएशनले अध्यक्ष शंकर खनालले जानकारी दिए।
संखुवासभा — यसवर्षको मनराम–एसकाज पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोविन्द पोखरेललाई प्रदान गरिने भएको छ। मनराम–एसकाज पत्रकारिता पुरस्कार छनोट समितिको बैठकले पोखरेललाई उक्त पुरस्कार दिने निर्णय गरेको संखुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएशनले अध्यक्ष शंकर खनालले जानकारी दिए।
पोखरेल संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा जन्मिएका हुन् । वरिष्ठ पत्रकार पोखरेलले आफ्नो सम्पूर्ण जीवन पत्रकारितामा समर्पित गरेका छन्। खाँदबारी–१ निवासी समाजसेवी स्व.रामबहादुर श्रेष्ठको सामाजिक विकास प्रतिको दृष्टिकोण र उनको समाज प्रतिको समर्पणको सम्झना स्वरुप प्रत्येक वर्ष संखुवासभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पत्रकारलाई यो पुरस्कार प्रदान गरिँदै छ।
पोखरेल गोरखापत्र संस्थानको अध्यक्ष र नेपाल टेलिभिजनको सल्लाहकारका रुपमा समेत रही सकेका छन् । उनले दृष्टि साप्ताहिक, कान्तिपुर मिडिया ग्रुप, श्रीसगरमाथा, सगरमाथा रेडियो र स्पेशटाईम दैनिक जस्ता महत्वपूर्ण सञ्चार माध्यममा रहेर काम गरिसकेका छन्।
सो पुरस्कार संखुवासभा– काठमाडौँ जर्नालिष्ट एसोसिएसनले काठमाडौँमा मंसिर १२ गते एक कार्यक्रमका बीच प्रदान गर्ने जनाएको छ।
