हाइड्रो पावरले सडक सफा गरेपछि ओलाङचुङगोला पुग्यो गाडी

ट्याक्टर र मोटरसाइकल आइतबार पुगे । सुकेपानी र जोङगीनमा ह्युम पाइप राखेर चार पाङग्रे सवारी साधन पनि चल्ने बनाउने । तर त्यसका लागि १८ दिनसम्म पर्खनुपर्ने।

मंसिर ८, २०८२

आनन्द गौतम

The vehicle reached Olangchungola after the road was cleared by hydropower.

ताप्लेजुङ — वर्षाका कारण अवरुद्ध फुङलिङ ओलाङचुङगोला टिपताला भन्ज्याङ सडक अन्तर्गतको सुकेपानीदेखि ओलाङचुङगोलासम्मको सडक मर्मतपछि यातायातका साधन ओलाङचुङगोलाको बस्तीसम्म पुगेका छन् ।

सुपर तमोर हाइड्रोपावर कम्पनीको सहयोगमा सडक सफा गर्ने काम भएको र दुई वटा मोटरसाइकल र ट्याक्टर पुगेको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष छेतेन शेर्पा लामाले जानकारी दिए ।

आइतबार सडक सफा गरेपछि त्यसैदिन फक्ताङलुङका दुई युवाले मोटरसाइकल पुर्‍याएको लामा बताउँछन् । लामाका अनुसार सुकेपानी र जोङिगनमा रहेको तमोर नदीमा पानीको बहाव बढी भएकाले साना सवारी तार्न समस्या रहेको स्थानीयले बताएका छन् ।

‘एक हप्तादेखि १५ दिनसम्ममा पानीको बहाव घट्न सक्ने र त्यसपछि ह्युम पाइप राखेर साना सवारी पनि पुग्नेगरी बनाउने तयारी गरिरहेका छौं,’ लामाले भने, ‘हामीसँग गतवर्षकै ह्युम पाइप छ सडक कार्यालयले राखिदिने काम मात्रै गर्नुपर्ने छ ।’ 

चाइनाको डिङजे काउण्टी सरकारले उपलब्ध गराएको फलामको ह्युम पाइप गतवर्ष लगाइएको थियो । तिनै पाइप बर्खा लागेर खोलामा पानी बढेपछि निकालेर राखिएको छ । केही कुच्चिएको भए पनि पानी तार्नेगरीको भने रहेको लामा बताउँछन् । 

ओलाङचुङगोलादेखि नेपाल चीन सिमाना टिपताला भञ्ज्याङसम्मको सडक पनि सफा गर्नका लागि प्रयास भइरहेको उत्तर दक्षिण लोकमार्ग ओलाङचुङगोला सडक कार्यालयले जनाएको छ । यतिबेला हिउँ पर्ने भएकाले हिउँको अवस्थालाई हेरेर मर्मत गर्ने तयारी रहेको एक कर्मचारीले बताए ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully