बिरामी कैदीबन्दीको ‘रिफर सेन्टर’ जस्तो मोरङ कारागार

कोशी प्रदेशका झापा, इलाम, ताप्लेजुङ, भोजपुर, धनकुटा, तेह्रथुमलगायत जिल्लाका कैदीबन्दी कुनै न कुनै कारणले बिरामी परेपछि उपचारका लागि अन्ततः मोरङमै ल्याइन्छन् ।

मंसिर ८, २०८२

पर्वत पोर्तेल

Morang Prison Like a 'Referral Center' for Sick Prisoners

What you should know

विराटनगर — मोरङ जिल्ला कारागार पछिल्ला वर्षमा प्रदेशभरिका बिरामी कैदीबन्दी सरुवा गरिने प्रमुख ‘रिफर सेन्टर’ जस्तै बन्दै गएको छ ।

कोशी प्रदेशका झापा, इलाम, ताप्लेजुङ, भोजपुर, धनकुटा, तेह्रथुमलगायत जिल्लाका कैदीबन्दी कुनै न कुनै कारणले बिरामी परेपछि उपचारका लागि अन्ततः मोरङमै ल्याइन्छन् ।

कारागारका जेलर गौरव ढुंगेल भन्छन्,‘मोरङ अस्पतालहरूको हब हो । त्यसैले अन्य जिल्लामा बिरामी भएका कैदीबन्दीलाई उपचारमा सहज हुने भन्दै यतै पठाउने चलन छ ।’

कारागार प्रशासनका अनुसार मोरङ कारागारमा करिब १ हजार २ सयभन्दा बढी कैदीबन्दी छन् । त्यसमध्ये करिब एक दर्जनभन्दा बढी बिरामी कैदीबन्दी छन् । तीमध्ये आधा दर्जन क्षयरोगी छन्, जो कोशी अस्पताल अन्तर्गतको क्षयरोग केन्द्रमै बसेर नियमित उपचार गराइरहेका छन् । 

त्यसैगरी केही मुटुरोगी छन्, केहीको शरीर सुन्निने समस्या छ । सबैजसो कोशी अस्पतालमा नियमित उपचार गराइरहेका छन् । क्यान्सरका एक बिरामीचाहिँ निजी अस्पतालमा उपचाररत छन् । ‘सरकारी अस्पतालमा बेड पाउनै मुस्किल हुन्छ’, जेलर ढुंगेल भन्छन्,‘बिरामी भर्ना गर्न पनि पालो पर्खिनुपर्ने बाध्यता छ ।’ 

कैदीबन्दीको उपचारबापत कोशी अस्पतालमा करिब ६० लाख बक्यौता रहेको ढुंगेलले बताए । ‘हाम्रो कामै बिरामी कैदीबन्दीलाई अस्पताल भर्ना गर्ने भएको छ’, उनी भन्छन् । 

परिवारको दूरी, राज्यको मौनता

लागूपदार्थ र मादक पदार्थको लतमा लागेर विभिन्न अपराधमा संलग्न भई जेल परेका अधिकांश कैदीबन्दीका परिवार भेट्नसमेत आउँदैनन् । उपचारका क्रममा अस्पताल धाउने, औषधिको खर्च बेहोर्ने, नजिक बस्ने– यी सबै जिम्मेवारी कारागार प्रशासनले गर्छ । ‘यस्ता कैदीबन्दीका परिवार भेट्न जेलमा पनि आउँदैनन्,’ कारागारका एक अधिकारी भन्छन्, ‘तर ज्यान गएपछि भने क्षतिपूर्ति माग्न जुलुस लिएर पस्छन् ।’ 

गत भदौ ११ मा कारागारभित्र आत्महत्या गरेकी सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराईका परिवार क्षतिपूर्ति माग गर्दै आन्दोलन गरेका थिए । तर, कारागारभित्र ज्यान गुमाउनेलाई क्षतिपूर्ति उपलब्ध गराउने कुनै कानुनी व्यवस्था नभएका कारण उनीहरू फर्किएका थिए । 

कारागारमा कैदीबन्दीको स्वास्थ्य चिन्ता वर्षौंदेखि उठाइँदै आएको मुद्दा हो । कारागारमा पर्याप्त चिकित्सक छैनन्, स्वास्थ्यकक्ष हुन्छ तर आवश्यक उपकरण हुँदैन । 

यसैले बिरामी पर्ना साथ छिमेकी जिल्लाहरुले ‘मोरङ पठाउने’ निर्णय गर्छन् । किनकी मोरङमा अस्पतालको सहज पहुँच छ । त्यही कारण मोरङ कारागार एक किसिमको बिरामी कैदीबन्दीहरुको ‘रिफर सेन्टर’ बनेको छ ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully