बिरामीको अत्यधिक चाप, जनशक्ति अभाव, साँघुरो संरचना र कमजोर अव्यवस्थित सेवाका कारण काेशी अस्पतालकाे सेवा अस्तव्यस्त बनेको हो ।
What you should know
विराटनगर — विराटनगर महानगरभित्र दर्जनौं निजी अस्पतालका साइनबोर्ड छन् । भित्रबाहिर बिरामीको भीड हुन्छ, सेवाझैं सेवाको दाम पनि उस्तै महंगो छ ।
तर, भएका थोरै सरकारी मध्ये भरपर्दो मानिने कोशी प्रादेशिक अस्पताल भने अस्तव्यस्त छ । बिरामीको अत्यधिक चाप, जनशक्ति अभाव, साँघुरो संरचना र कमजोर अव्यवस्थित सेवाका कारण काेशी अस्पतालकाे सेवा अस्तव्यस्त बनेको हो ।
यो अस्पतालमा भीड बढ्नुको अर्को महत्वपूर्ण कारण स्वास्थ्य बिमाबाट पाइने उपचार सेवा हो । नगर अस्पतालबाट रेफर लिएर आएका विरामीको चाप कोशी अस्पतालमै आएर लाग्छ । ‘बिमाबाट उपचार हुने विरामी र अन्यको दर करिब आधा आधा छ’, अस्पतालका मेडिकल तथ्यांक अधिकृत गोविन्द कटुवालले भने,‘त्यही कारण अस्पतालमा भीडभाड बढेको हो ।’
उनका अनुसार बिमाको सफ्टवेयरमा हुने ढिलासुस्तीका कारण पनि अस्पतालको सेवा अस्तव्यस्त जस्तो देखिन्छ । उनका अनुसार दैनिक १ हजार ५ सयदेखि २ हजारसम्म सेवाग्राही आउने अस्पतालमा आइतबार झनै चाप हुन्छ ।
विराटनगर महानगरको स्वामित्वमा रहेका रानी अस्पताल र बैजनाथपुर अस्पताल पछिल्ला वर्ष स्तरोन्नति भए पनि उपचार केन्द्रभन्दा बढी बिमाको रेफर कागज निकाल्ने ठाउँ मात्रै बनेका छन् । प्रादेशिक अस्पतालमा अत्यधिक भीड हुँदा नगरस्तरका यी अस्पताल भने प्रायः सुनसान देखिन्छन् । ‘जेजति भीड देखिन्छ त्यो रेफर कागज लिन मात्रै आएका हुन्,’ रानी अस्पतालका अहेब बैजनाथ शर्माले भने, ‘९० प्रतिशत बढी रेफरका लागि र १० प्रतिशत जति उपचारका लागि आउँछन् ।’
वडा १५ मा रहेको रानी अस्पताल विगतमा प्राथमिक स्वास्थ्य केन्द्र थियो । अहिले १५ बेडको नगर अस्पताल बनिसकेको छ । बैजनाथपुरको स्वास्थ्य चौकी पनि ५ बेडको अस्पताल बनेको छ । भौतिक संरचना बढे पनि उपचार सेवा भने उस्तै छ ।
महानगरले स्तरोन्नति गरे पनि संघीय सरकारले रानी अस्पताललाई प्राथमिक स्वास्थ्य केन्द्रकै रुपमा हेर्छ । परिणामस्वरूप यहाँ एक जना मेडिकल अधिकृत मात्र छन् । उनी उपचार गर्नुभन्दा बढी रेफर कागजमा हस्ताक्षर गर्नै व्यस्त हुन्छन् । सातामा चार दिन निजी अस्पतालबाट विशेषज्ञ चिकित्सक बोलाउने गरे पनि सेवा निरन्तर र पर्याप्त छैन । दन्तदेखि प्रसूति र हाडजोर्नीसम्मका विशेषज्ञ आउँछन्, तर उपचारका लागि आउने सेवाग्राहीको भीड खासै हुँदैन ।
वडा १९ स्थित बैजनाथपुर अस्पतालमा करिब ८ हजार जनसंख्याको स्वास्थ्य दायित्व छ । तर जनशक्ति अभावमा दैनिक १०–४ बजेसम्म मात्र सेवा चल्छ । प्रसूतिका बिरामीलाई भने रातदिन सेवा छ, तर रेडियोलोजिस्ट, फार्मेसिस्टदेखि आवश्यक अन्य कर्मचारीको अभावले २४ घण्टे सेवा सुरु गर्न नसकिएको अस्पतालका अधिकृत भोला तिम्सिना बताउँछन् ।
नगरस्तरमै सेवा उपलब्ध नभएकाले सामान्य बिरामीदेखि प्रसूति, आकस्मिक, र गम्भीर समस्याका विरामीको सम्पूर्ण भार अन्ततः कोशी अस्पतालमै खनिन्छ ।
