कार्यान्वयन पनि सम्बन्धित मन्त्रालयबाटै सुरु होस् : नगर प्रमुख

‘निर्णय गर्नु ठूलो कुरा होइन, त्यसको कार्यान्वयन गर्नु महत्त्वपूर्ण पक्ष हो,’ नगर प्रमुख भट्टराईले भने, ‘त्यसैले बाँसबाट निर्मित फर्निचर उपयोग गरी कार्यान्वयन पनि सम्बन्धित मन्त्रालयबाटै गरिनु पर्छ ।’

मंसिर ८, २०८२

डम्बरसिं राई

Implementation should also start from the relevant ministry: Mayor

What you should know

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन सरकारले स्वीकृत गरेकामा खुसी व्यक्त गर्दै यसको कार्यान्वयन पनि सम्बन्धित मन्त्रालयबाटै सुरु हुनुपर्ने माग गरेका छन् ।

सरकारले आइतबार मार्गदर्शन स्वीकृत गरेपछि त्यसको कार्यान्वयन पनि सम्बन्धित मन्त्रालयबाटै सुरु गर्नुपर्ने नगर प्रमुख भट्टराईले सोमबार पत्रकार सम्मेलन आयोजना गरी माग गरेका हुन् ।

नगर प्रमुख भट्टराईले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले मार्गदर्शन स्वीकृत गरेको र त्यसको कार्यान्वयन पनि सम्बन्धित मन्त्रालयमा बाँसबाट निर्माण भएका सामग्री प्रयोग गरी सुरु गर्नुपर्ने माग राखेका हुन् । ‘निर्णय गर्नु ठूलो कुरा होइन, त्यसको कार्यान्वयन गर्नु महत्त्वपूर्ण पक्ष हो,’ नगर प्रमुख भट्टराईले भने, ‘त्यसैले बाँसबाट निर्मित फर्निचर उपयोग गरी कार्यान्वयन पनि सम्बन्धित मन्त्रालयबाटै गरिनु पर्छ ।’

बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन २०८२ ले बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा प्रयोग गरी एकदेखि दुईतले आवासीय, साना व्यावसायिक तथा औद्योगिक भवनहरूको इन्जिनियरिङ डिजाइन र निर्माणलाई संस्थागत बनाउन सकिनेछ । सहरी विकास मन्त्रालयबाट स्वीकृत मार्गदर्शन कार्यान्वयनमा ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत स्थानीय तहमा परिपत्र गरिनेछ ।

कङ्क्रिट, स्टिल, सिमेन्ट, फलाम लगायतको महँगो, पर्यावरणलाई प्रतिकूल असर पर्ने सामग्री प्रयोग गर्नाले पृथ्वीलाई नकारात्मक असर पर्दै गएकाले परम्परागत रूपमा प्रयोग हुँदै आएको बाँसलाई निर्माण सामाग्रीका रूपमा प्रयोग गर्न प्रोत्साहन र प्रवर्द्धन गर्न मार्गदर्शनले जोड दिएको भट्टराईले बताएका छन् । 

मार्गदर्शनले बाँसको कटाइ, ग्रेडिङ, रासायनिक उपचार, भण्डारण र प्रयोग लगायतका विषयमा स्पष्ट मापदण्ड तोकेको छ । बाँसको प्रयोगबाट भूकम्प प्रतिरोधी, वातावरणमैत्री र सस्तोमा संरचना निर्माण गर्न सकिने, सरल तथा सहज ढंगको डिजाइन विधि र आवश्यक विस्तृतीकरण सहित घरका नमूना डिजाइन समावेश गरिएको छ । अन्तर्राष्ट्रिय स्तरमा बाँसको भवन डिजाइन तथा निर्माण प्रविधि सम्बन्धमा भएका अध्ययन र अनुसन्धानबाट हासिल भएका तथ्य, ज्ञान र मापदण्डलाई आधार मार्ग दर्शन निर्माण गरिएको मन्त्रालयले जनाएको छ ।

बाँसजन्य वस्तुको प्रयोग लगायतका विभिन्न माग राख्दै नगर प्रमुख भट्टराई गत साउन ११ गतेदेखि तीन दिन भोक हड्ताल र पाँच दिन आमरण अनशन बसेपछि १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरी तत्कालीन वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अनशन तोडाएका थिए । यसअघि बाँसजन्य वस्तुको प्रवर्द्धन गर्ने उद्देश्यले २०८१ फागुन १५ देखि १७ गतेसम्म दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना गरिएको थियो ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully