भवन निर्माणको सम्झौता भएको दुई महिनापछि शिलान्यास

५ करोड ८७ लाख १८ हजार १ सय ३० रूपैयाँ लागतमा १८ महिनाभित्र सक्ने गरी आकाश निर्माण सेवा सिन्धुपाल्चोकले २०८२ असोज ७ गते भवन निर्माणको सम्झौता गरेको हो ।

मंसिर ७, २०८२

डम्बरसिं राई

The foundation stone was laid two months after the contract for the construction of the building was signed.

खोटाङ — हलेसी तुवाचुङ नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । सुविधा सम्पन्न प्रशासनिक भवनको नगर प्रमुख विमला राईले शिलान्यास गरेकी हुन् । निर्माण सम्झौता भएको दुई महिनापछि भवनको शिलान्यास गरिएको हो ।

नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार ५ करोड ८७ लाख १८ हजार १ सय ३० रूपैयाँ लागतमा १८ महिनाभित्र सक्ने गरी आकाश निर्माण सेवा सिन्धुपाल्चोकले २०८२ असोज ७ गते भवन निर्माणको सम्झौता गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको छापडाँडँमा रहेको पुरानो प्रशासनिक भवन भत्काएर त्यही ठाउँमा निर्माण गर्ने गरी भवनको शिलान्यास गरिएको हो । उक्त ठाउँमा प्रशासनिक कार्यालयका लागि स्थानीयले ९ रोपनी जग्गा उपलब्ध गराएका छन् । 

पुरानो प्रशासनिक भवन भत्काइएपछि उक्त नगरपालिका–७ महादेवस्थानस्थित मञ्जश्रीडाँडासँगै जोडिएको गुरासेडाँडामा भएको धर्मशालाबाट सेवा प्रवाह भइरहेको गिरीले सुनाए ।

‘आज नगर उपप्रमुख रमेश राउत लगायत नगरका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा नयाँ सुविधा सम्पन्न प्रशासनिक भवनको शिलान्यास भएको छ, पुरानो भवनलाई भत्काएर त्यसै ठाउँमा १८ महिनाभित्र नयाँ भवन निर्माण पूरा हुनेछ,’ गिरीले भने ।

उक्त धर्मशाला नेपाल आयल निगम र नगरपालिकाको लगानीले निर्माण भएको थियो । उक्त धर्मशाला नगरपालिकाको ३ करोड र आयल निगमको २ करोड गरी ५ करोडको लागतमा तीन वर्षअघि निर्माण सम्पन्न गरिएको गिरीले सुनाए । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully