विराटनगर विमानस्थल परिसरबाट बाहिरिने क्रममा उनी सवार गाडीमा दिउँसो रङ हानिएको थियो ।
सुनसरी — एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आफूमाथि रातो रङ छ्याप्ने कार्यलाई आतंकवादीको संज्ञा दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश कमिटीले इटहरीमा आइतबार आयोजना गरेको युवा जागरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् । विराटनगर विमानस्थल परिसरबाट बाहिरिने क्रममा उनी सवार गाडीमा दिउँसो रङ हानिएको थियो ।
विराटनगर विमानस्थलदेखि सुनसरीको दुहबीमा भएको अवरोधका बाबजुद इटहरी आएका बस्नेतले आफूमाथि सयौं चोटि अबिर प्रहार गरे पनि यस्ता आतंकवादी गतिविधिको सामना गर्न तयार रहेको बताए । आफू सहभागी विभिन्न कार्यक्रम बिथोल्न खोजिएको प्रति लक्षित गर्दै बस्नेतले स्वतन्त्रतापूर्वक हिँड्डुल गर्न पाउने अधिकारलाई कुण्ठित गर्न खोजिएको बताए । सरकारले यस्ता गतिविधि रोक्न नसकेकोमा उनले आक्रोश पोखे ।
विराटनगर विमानस्थल र सुनसरीको दुहबीमा बस्नेतविरुद्ध प्रदर्शन भएपछि उनलाई कडा सुरक्षाका बीच प्रहरीले इटहरीस्थित कार्यक्रमस्थलमा ल्याएको थियो भने कार्यक्रमस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
कार्यक्रम सकेर बस्नेत आजै साँझ अर्को रुट हुँदै विराटनगर पुगेका छन् । उनी इटहरीबाट बिराटचोक–झोराहाट हुँदै विराटनगरतर्फ प्रस्थान गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । बस्नेत आजै काठमाडौं फर्कने कार्यक्रम छ ।
