इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुने १० जना प्रतिनिधिका लागि प्रतिस्पर्धामा ४२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
पाँचथर — नेकपा एमालेको आसन्न एघारौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिसभाका निवर्तमान सदस्य सुहाङ नेम्वाङसहित ७२ जनाले इलाममा उम्मेदवारी दर्ता गराएका छन् ।
मंसिर २७ देखि २९ गतेसम्मका लागि तोकिएको महाधिवेशनका लागि एमाले इलामले गठन गरेको निर्वाचन समितिले उम्मेदवारी दर्ता प्रक्रिया शनिबार सुरु गरेको थियो ।
सो क्रममा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित निवर्तमान सांसद सुहाङ नेम्वाङ र क्षेत्र नम्बर १ बाट निर्वाचित अर्का निवर्तमान सांसद महेश बस्नेतसहितको उम्मेदवारी परेको हो ।
इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुने १० जना प्रतिनिधिका लागि प्रतिस्पर्धामा ४२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । खुलामा २४, महिलामा ८ र युवामा १० जनाको उम्मेदवारी दर्ता भएको छ ।
क्षेत्र नम्बर १ बाट निर्वाचित हुने ९ जना प्रतिनिधिका लागि २० जनाको उम्मेदवारी परेको छ । जसमध्ये खुलातर्फ १८, जना महिलामा ६ र युवामा ६ जनाले उम्मेदवारी दिएका छन् । दलित प्रतिनिधितर्फ भने देवेन्द्र विश्वकर्मा प्रतिनिधिमा सर्वसम्मत भएका छन् । एमाले इलाम क्षेत्र नम्बर १ मा ४ हजार ८ सय २१ र क्षेत्र नम्बर २ मा ५ हजार ७ सय ८१ पार्टी सदस्य रहेका छन् ।
यसरी नै दलित सदस्य ४ सय ४७ जना रहेको नेकपा एमालेले जनाएको छ । सबै प्रतिनिधि सर्वसम्मत गर्न प्रयास गर्ने र सम्भव नभए मंसिर १३ गते एकैसाथ सबै वडामा निर्वाचन गरे प्रतिनिधि चयन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
