त्रियुगा बसपार्क निर्माण अलपत्र पारेर ठेकदार 'बेपत्ता'

निर्माण सम्पन्न नगरेकाले ठेक्का रकमको ०.५ प्रतिशतका दरले दैनिक रूपमा जरिवाना भइरहेको र सो रकम बिल भुक्तानीका बेला कट्टा गरिने आयोजनाले जनाएको छ ।

मंसिर ६, २०८२

राकेश नेपाली

Contractor 'disappears', leaving Triyuga Bus Park construction abandoned

What you should know

उदयपुर — ठेकदारको लापरबाहीका कारण उदयपुरको त्रियुगा बसपार्क निर्माणको काम अलपत्र परेको छ । चार वर्षअघि नै निर्माण सकिएर सञ्चालनमा आउनुपर्ने बसपार्क अलपत्र बनेको हो ।

बढ्दो सहरीकरण र जनसङ्ख्याको चापलाई मध्यनजर गर्दै कोशी प्रदेशकै नमुना बसपार्कको रुपमा २०७६ सालबाट सुरु गरिएको बसपार्क निमार्णको काम अधुरै छाडेर ठेकदार कम्पनी ‘बेपत्ता’ भएको हो । त्रियुगा नगरपालिका–१२ गाईघाटस्थित त्रियुगा नदीको उत्तरी किनारमा अत्याधुनिक सुविधासहित नयाँ बसपार्क निर्माण गर्न रमण आईएस एमडी जेभीले ठेक्का पाए पनि बीचमै काम छाड्दा निर्माण अलपत्र बनेको छ । 

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै २०७८ पुस २९ गतेभित्र काम सम्पन्न गर्ने गरी नेपाल सरकारको करिब १३ करोड रुपैयाँको लागतमा २०७६ साल असारमा बसपार्क निर्माणको सम्झौता गरिएको थियो । त्रियुगा सभ्यता र विकास कार्यक्रमलाई सफल पार्न आधुनिक शैलीमा बनाउन थालिएको त्रियुगा बसपार्क निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गर्न नगरपालिकाका तर्फबाट पहल गरेको भए पनि ठेकेदारको लापरबाहीले बसपार्क निर्माणको काम अधुरै रहेको त्रियुगा नगरपालिकाका प्रमुख बसन्त बस्नेतले बताए । 

Contractor 'disappears', leaving Triyuga Bus Park construction abandoned

‘बसपार्क निमार्णका लागि ठेकदार कम्पनीलाई स्थानीय स्रोत साधन र अन्य सहयोग समेत उपलब्ध गराइएको थियो तर अहिले काम छाडेर निर्माण कम्पनी बेपत्ता छ,’ उनले भने । विकसित सहरका रुपमा रहेको गाईघाट बजारको रुप उज्यालो हुनेगरी बसपार्कको डिजाईन इस्टिमेट तयार गरी थालिएको काम पूरा हुन नसकेको सघन सहरी विकास तथा भवन निर्माण कार्यालय मोरङका प्रमुख सुरेन्द्रकुमार साहले बताए । 

आयोजना प्रमुख साहका अनुसार टर्मिनल भवन, घण्टाघर, यात्रु प्रतीक्षालय, मर्मतसम्हार केन्द्र, चमेनागृह, सार्वजनिक शौचालय र सपिङ कम्प्लेक्ससहित कोशी प्रदेशकै उत्कृष्ट र नमुना बसपार्क बनाउन लागिएको हो ।

निर्माण कम्पनी रमण आईएस एसबी बिल्डर्स जनकपुरले हालसम्म पनि निर्माण सम्पन्न नगरेकाले ठेक्का रकमको ०.५ प्रतिशतका दरले दैनिक रूपमा जरिवाना भइरहेको र सो रकम बिल भुक्तानीका बेला कट्टा गरिने आयोजना प्रमुख साहले बताए । निर्माण कम्पनीका लागि ६ पटकसम्म म्याद थपिएको र अन्तिम पटक थपिएको म्याद पनि एक महिना मात्र बाँकी रहेको साइड इन्जिनियर श्रवन यादवले बताए । 

व्यवस्थित बसपार्कको अभावमा सडक छेउ र त्रियुगा नदीको बगरमा बस पार्किङ गर्ने गरिएको छ । २०४२ सालदेखि निरन्तर रूपमा सवारी सेवा सञ्चालन हुँदै आएको उदयपुरको गाईघाटबाट हाल दैनिक डेढ सयभन्दा बढी यात्रुवाहक बस चल्ने गरेका छन् ।

Contractor 'disappears', leaving Triyuga Bus Park construction abandoned

तीन दशक लामो समय र अथक प्रयासपछि बल्ल सुविधासम्पन्न बसपार्क बन्न लागेको भए पनि हाल योजना अलपत्र हुनु दुःखद भएको यातायात व्यवसायीले बताएका छन् । ‘बसपार्क समयमै नबन्दा त्रियुगा किनारमा बस पार्क गर्नुपरेको छ, वर्षामा हिलो र हिउँदका धुलोका कारण यातयात मजदुर र यात्रुले सास्ती भोग्नुपरेको छ,’ यातयात व्यावसायी कृष्ण भण्डारीले बताए ।

लहान–गाईघाट–दिक्तेल सडक र धरान–चतरा, गाईघाट–कटारी हुँदै हेटौंडासम्म जोड्ने मदन भण्डारी लोकमार्गले पूर्वपश्चिम र उत्तर दक्षिण चारै दिशाले गाईघाटलाई एकै ठाउँमा जोडेको छ । 

राकेश नेपाली राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully