तोकिएभन्दा एक वर्षअघि नै पुल निर्माण सम्पन्न

२०८३ कात्तिक २१ गतेसम्म सक्ने गरी जय वागेश्वरी–रेग्मी चुरिया जेभी गाईघाटले २०८१ वैशाख ३० गते सम्झौता गरेको थियो । एक वर्षअगावै पुल निर्माणको काम सकिएको हो ।

मंसिर ६, २०८२

डम्बरसिं राई

Bridge construction completed a year ahead of schedule

खोटाङ — जन्तेढुंगा गाउँपालिका र बाराहापोखरी गाउँपालिकाको बीचमा पर्ने बुवाखोला पुल उद्घाटन गरिएको छ । जन्तेढुंगा गाउँपालिका–१ देवीस्थान र बाराहापोखरी गाउँपालिका–५ पौवासेरा जोड्ने १ सय ४८.४० मिटरको पक्की पुल कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले शनिबार उद्घाटन गरेका हुन् ।

कोशी प्रदेशको १७ करोड ७० लाख रुपैयाँको बजेटमा पूर्वाधार विकास कार्यालय खोटाङबाट सञ्चालित योजनाबाट उक्त पुल सम्पन्न भएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले बताए । २०८३ कात्तिक २१ गतेसम्म सक्ने गरी जय वागेश्वरी–रेग्मी चुरिया जेभी गाईघाटले २०८१ वैशाख ३० गते सम्झौता गरेको थियो । उक्त पुल २०८१ मंसिर ६ गते शिलान्यास गरिएको थियो । 

निर्माण अवधिअगावै पुल निर्माणको काम सकिएपछि पुल उद्घाटन गरिएको मन्त्री राईले बताए । ‘पुल निर्माणप्रति यससँग सम्बन्धित सबै पक्षको सक्रियताले निर्माण अवधिअघि नै काम सकिएको छ,’ मन्त्री राईले भने, ‘यसप्रति सबैलाई धन्यवाद दिन चाहन्छु ।’ मन्त्री राईले बुवाखोलाको पुल निर्वाचनका बेला गरेको प्रतिबद्धता भएकाले पनि निर्माणपछि आफूलाई खुसी लागेको बताए । 

उद्घाटन कार्यक्रममा जन्तेढुंगा गाउँपालिकाकी अध्यक्ष अरुणादेवी राई, उपाध्यक्ष खेमबहादुर खड्का, बाराहापाखेरी गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जरा, उपाध्यक्ष भुवलराज राई, खोटेहाङ गाउँपालिका अध्यक्ष उदीमबहादुर राई लगायत सम्बन्धित कार्यालयमा कार्यरत कर्मचारी, राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully