काेशीमा ४२ हिमताल उच्च जाेखिममा : इसिमाेड

तिब्बतबाट फुटेर आउने धेरै छन् । उत्तरी भेगमा त्यस्ता जाेखिमयुक्त ताल १३ वटा छन् ।

मंसिर ५, २०८२

दीपेन्द्र शाक्य

42 glacial lakes in Kashi at high risk: ICMOD

What you should know

संखुवासभा — काेशी प्रदेशमा ४२ हिमताल उच्च जाेखिममा रहेकाे तथ्यांक इसिमाेडले सार्वजनिक गरेकाे छ ।

नेपालका हिमनदी र हिमतालकाे तीव्र परिवर्तनसँगै उत्पन्न भयानक जाेखिमबारे खाँदबारीमा शुकरबार आयोजित अन्तरसंवाद कार्यक्रममा इसिमाेडका शरदप्रसाद जोशीले २०२० काे रिपोर्ट प्रस्तुत गरे । 'नेपालमा २०६९ हिमताल भएको र तीमध्ये कोशीमा मात्र ४२ वटा अत्यन्तै जाेखिमयुक्त अवस्थामा छन्,' उनले भने । हिमताल फुटेमा ठूलो जनधन र पूर्वाधारमा विनाश निम्त्याउन सक्ने उनले चेतावनी दिए ।

उनका अनुसार संखुवासभामा भोटखोला क्षेत्रमा २ र मकालु क्षेत्रमा २ वटा गरी ४ हिमताल उच्च जोखिमयुक्त छन् । तीमध्ये तल्लो वरुणमा रहेको ठूलोपोखरी हिमताल उच्च जोखिममा भएको उनले बताए । 'करिब ३ किलोमिटर लम्बाइ र २ सय ६ मिटर गहिराइ भएको अनुमान छ,' उनले भने, 'यो तालका छेउछाउमा पनि १५ देखि २५ मिटर गहिराइ छ ।'

जोखिम बढ्दै गएपछि जल तथा मौसम विज्ञान विभाग र यूएनडीपी नेपालको सहकार्यमा ४ हिमतालका लागि जोखिम न्यूनीकरण योजना कार्यान्वयनमा अघि बढिरहेको उनले बताए । ठूलोपोखरी (तल्लो बरूण) पनि सो योजनामा समावेश छ।

हिमताल फुट्याे भने अरुण उपत्यकाका धेरै बस्ती र संरचना उच्च जोखिममा रहेको उनले बताए । 'तिब्बतबाट फुटेर आउने धेरै छन् । उत्तरी भेगमा त्यस्ता जाेखिमयुक्त ताल १३ वटा छन्,' उनले भने ।

इसिमोडकी नीरा श्रेष्ठ प्रधानका अनुसार विपदमा सबैभन्दा बढी असक्त, महिला र बालबालिकामै जोखिम हुने गरेको बताइन् । उनीहरूलाई लक्षित गरी चेतना अभिवृद्धि तथा क्षमता विकास कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जोखिमयुक्त हिमताललाई सुरक्षित बनाउने दिगो उपाय तत्काल आवश्यक रहेको बताए । सूचना प्रणाली जडान गर्नुपर्नेमा उनले जाेड दिए । 

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियालगायत सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा हिमताल व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको थियो ।

दीपेन्द्र शाक्य

Link copied successfully