दमकबाट लुटिएका बन्दुक र गोली ओढारमा भेटिए

जेन-जी आन्दोलनका क्रममा झापाबाट २२ थान हतियार लुटिएका थिए, तीमध्ये २ थान मात्रै फेला परेका छन् ।

मंसिर ४, २०८२

लक्ष्मी गौतम

Guns and bullets stolen from Damak found in cave

पाँचथर — झापाको दमकमा रहेको इलाका प्रहरी कार्यालयबाट लुटिएका दुई थान हतियार र केही थान गोली पाँचथरको मिक्लाजुङ गाउँपालिकास्थित एउटा ओढारमा फेला परेका छन् ।

फेला परेका तीनमध्ये एकथान जलेको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । झापा र पाँचथरबाट खटेको प्रहरीको संयुक्त टोलीले बुधबार साँझ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले जानकारी दिए । ती सामग्री मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेस्थित जङ्गलको ओढारमा लुकाए राखेको अवस्थामा भेटिएका हुन् ।

जेनजी आन्दोलनका क्रममा दमकस्थित प्रहरी कार्यालय आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचथर मिक्लाजुङ–३ का २२ वर्षीय सुशील फियाकको बयानका आधारमा खोजी गर्दा प्रहरीले फेला पारेको हो । यसरी फेला परेका हतियारमा म्यागेजिन सहितको ३०३ मार्क–३ राइफल, जलेको अवस्थामा रहेको एक थान इन्सासको बट र हृयान्ड–ग्रिप, इन्सासको एक थान जंगी राउन्ड र एसएलआरका तीन थान जंगी राउन्ड रहेको प्रहरीले जनाएको छ ।

बरामद हतियार फोरन्सिक र कानुनी प्रक्रिया पूरा गरेर सुरक्षित रुपमा राखिएको छ । पक्राउ परेका फियाकविरुद्ध हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

जेनजी आन्दोलनका क्रममा झापाबाट २२ थान हतियार लुटिएका थिए । ती मध्ये २ थान मात्रै फेला परेका छन् । बाँकी २० थान हतियार हराइरहेका छन् । हराइरहेका हतियार खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully