ताप्लेजुङमा ४ वटा जिप नियन्त्रणमा, अनुसन्धानका लागि इटहरी पठाइने

यातायात व्यवस्था कार्यालयको अभिलेखमा नदेखिएका र सवारी दर्ता किताबको विवरणमा मेल नखाएको पाइएपछि ती सवारी नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

मंसिर ४, २०८२

आनन्द गौतम

4 jeeps seized in Taplejung, to be sent to Itahari for investigation

ताप्लेजुङ — ताप्लेजुङ ट्राफिक प्रहरीले जिल्लामा चलाइरहेका चारवटा बोलेरो जिप नियन्त्रणमा लिएको छ । यातायात व्यवस्था कार्यालयको अभिलेखमा नदेखिएका र सवारी दर्ता किताबको विवरणमा मेल नखाएको पाइएपछि ती सवारी नियन्त्रणमा लिइएको हो । 

फुङलिङ नगरपालिकाको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका यी सवारीसाधनमाथि थप अनुसन्धानका लागि ट्राफिक व्यवस्थापन कार्यालय इटहरी पठाइने ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी सहायक निरीक्षक सुमन अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार नियन्त्रणमा लिइएका सवारीमध्ये ना१ज १५८३ नम्बरको सवारी यातायात व्यवस्थापन कार्यालय वीरगन्ज पर्साको अभिलेखमा देखिँदैन भने को१ज ११११ नम्बरको सवारी दर्ता किताबमा रहेको तर इन्जिन नम्बरसँगै गाडीमा भएको इन्जिन मेल खाँदैन । ना३च ३९२८ को इन्जिन नम्बर यातायात व्यवस्थापन कार्यालयको अनुमति नलिई सञ्चालन गरेको पाइएको छ भने ना २ च ७२९५ नम्बरको बोलेरोको सवारी दर्ता भए पनि इन्जिनसँग गाडीमा रहेको इन्जिन मेल नखाए र सवारी दर्तामा रातो रङ उल्लेख भए पनि, गाडी सेतो रङमा सञ्चालन भएकाले नियन्त्रणमा लिएको उल्लेख छ । 

अनुमति नभएका सवारी दुर्गम क्षेत्रका ग्रामीण सडक र पाथीभरा सिजनमा हुने भिडभाडको समयमा ताप्लेजुङ ल्याएर चलाउने गरिएको प्रहरीको भनाइ छ । दुई पाङ्ग्रे सवारीमा पनि निगरानी बढाइएको ट्राफिक प्रहरीले जनाएको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully