आगलागीका कारण यहाँ व्यापार गरेर बस्ने समेत गरी पाँच परिवार विस्थापित भएका छन् ।
ताप्लेजुङ — मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बेवा बजारमा आगलागी हुँदा चार घर पूर्ण रूपमा जलेका छन् ।
व्यापार गरेर बस्ने समेत गरी पाँच परिवार विस्थापित भएका छन् । स्थानीय गजेन्द्र थलङका अनुसार आगलागीबाट राजकुमार साँवा, इन्द्रकुमार साँवा, विष्णु साँवा र अनिल साँवाको घर जलेको छ । उनी भन्छन्– यिनै घरमा पसल गर्ने दोर्ची शेर्पा र पासाङ फुट्टी शेर्पाको पसल पूर्ण रूपमा जलेको छ ।
मंगलबार बेलुका १०:३० बजेतिर रोकी राखेको मोटरसाइकलमा अचानक आगलागी भएको र त्यसलाई देखेका स्थानीय युवाले नालीतिर पल्टाउन खोज्दा घरतिर पल्टिएपछि त्यसैबाट आगलागी सुरु भएको थलङले जानकारी दिए । स्थानीयवासी र मेवा डेभलपर हाइड्रो कम्पनीमा रहेका नेपाली सेनाको टोली आए पनि आगो नियन्त्रणमा लिन नसकी सबै जलेर नष्ट भएको उनले बताए ।
यहाँ ५० देखि ६० मनको हाराहारीमा अलैँचीका बोरा भएकाले करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको उनले बताए । बुधबार बिहान सदरमुकाम फुङलिङ लैजाने गरी यहाँ गोदाम गरेर राखिएको थियो । अहिले अलैँची प्रतिमन एक लाखको हाराहारीमा मूल्य रहेको छ ।
फुङफुङे झरनाको छेउमा रहेको यो पापुङ र साँवाको व्यापारिक केन्द्र समेत रहेको थियो ।
