जिल्लामा हाल ७५ मतदानस्थल र १ सय २३ मतदान केन्द्र रहेका छन् ।
What you should know
ताप्लेजुङ — गत असोज १० यता जिल्लामा १ हजार ४ सय ५० मतदाता थपिएका छन् । जिल्ला निर्वाचन अधिकारी बान्धवराज (विपिन) दुलालका अनुसार जिल्लामा हाल ७५ मतदानस्थल र १ सय २३ मतदान केन्द्र रहेका छन् ।
नाम दर्ता गराउने अधिकाशजसो १८ वर्ष उमेर पूरा भएकाहरु छन् । मतदाता नामावलीमा रहेको नाम सार्नका लागि ३ सय ४३ जनाले आवेदन दिएका छन् ।
जिल्लाका पाँच मतदानस्थल थप र दुई मतदान केन्द्र परिवर्तनका लागि सिफारिस गरिएको छ । निर्वाचन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला स्तरीय समितिले मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनका लागि निर्वाचन आयोगमा सिफारिस गरेको हो ।
मैवाखोला गाउँपालिका–६ फाकुम्बाको अशाङलुङ आधारभूत विद्यालय, फक्ताङलुङ गाउँपालिका–६ को महेन्द्र आधारभूत विद्यालय भाङवारी, सोही वडाको लुङथुङ आधारभूत विद्यालय स्कुलडाँडा, फक्ताङलुङ-२ को आर्दश मावि खेजेनिम र मिक्वाखोला गाउँपालिका-४ को जनरात्री आधारभूत विद्यालय दलैंचामा मतदानस्थल पुनरावलोकनका लागि लागि सिफारिस गरिएको हो । सिफारिस गरिएका मध्ये अहिले आशाङलुङमा १ सय ३१, भाङबारीमा ५ सय ३०, लुङथुङ स्कुलडाँडामा ३ सय ६२, खेजेनिममा ५ सय १३ र दलैंचामा १ सय ३० मतदाता रहेका छन् ।
वडा कार्यालयहुँदै सम्बन्धित पालिकाको अनुरोधमा सिफारिसको निर्णय गरिएको हो । फुङलिङ नगरपालिका–२ याङ्लीजुङ आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई वडा २ को वडा कार्यालयमा र फुङलिङ नगरपालिका–५ सामुदायिक भवनमा रहेको मतदानस्थललाई उद्योग वाणिज्य संघको भवनमा सार्नेगरी आयोगमा सिफारिस गरिएको कार्यालय प्रमुख दुलालले जानकारी दिए ।
जिल्लामा हाल ७५ मतदानस्थल र १ सय २३ मतदान केन्द्र रहेका छन् । सिफारिस स्विकृत भए मतदानस्थल ८० र मतदान केन्द्र १ सय २८ पुग्ने छन् ।
