दुवै जनालाई लागूऔषध तथा प्रतिबन्धित औषधिसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ ।
धरान — सुनसरीको इटहरी उप-महानगरपालिका–१२ मा सञ्चालित नसिव फार्मेसीबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध बरामद गरिएको छ ।
मंगलबार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी, प्रहरी चौकी खनार तथा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको संयुक्त टोलीले फार्मेसीमा छापा मार्दा प्रतिबन्धित लागूऔषध बरामद गरेको हो । सञ्चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुनसरीका एसपी केशवकुमार थेबेका अनुसार फार्मेसीका सञ्चालक ५० वर्षीय नसिव नारायण चौधरीले ट्रामाडोल विक्री-वितरण गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा निगरानी बढाएको र सोही क्रममा मंगलबार चौधरीलाई फार्मेसीबाट उनकी श्रीमतीलाई घरबाट पक्राउ गरिएको हो ।
पक्राउपछि कानुनबमोजिम घर–कोठा खानतलासी गर्ने क्रममा चौधरीकी श्रीमती २४ वर्षीया सम्झना चौधरी सिमेन्टका दुई बोरा घरको छतबाट फाल्दै गरेको अवस्थामा पक्राउ परेकी हुन्। प्रहरीले ती बोरा जाँच्दा ठूलो परिमाणमा लागूऔषध फेला परेको एसपी थेबेले बताए ।
बोरा तथा घरभित्रबाट १ हजार ९ सय ८० पत्तामा १९ हजार ८ सय क्याप्सुल ट्रामाडोल र चौधरीको कोठाको टेबलबाट ४ सय पत्तामा ४ हजार ट्याब्लेट प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ । दुवै जनालाई लागूऔषध तथा प्रतिबन्धित औषधिसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
