पाँचथरमा ३५ सय बढी चौपायालाई खोरेतविरुद्वको खोप

कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउन अहिले विभिन्न जिल्लामा अभियान सञ्चालन गरिएकाे छ ।

कार्तिक ३०, २०८२

लक्ष्मी गौतम

Over 3,500 livestock vaccinated against rabies in Panchthar

पाँचथर — पाँचथरमा ३ हजार ५ सय ७४ पशु चौपायालाई खोरेत रोगविरुद्वको खोप लगाइएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहहरुको समन्वयमा चौपायालाई खोरेतविरुद्वको खोप लगाइएको हो ।

जिल्लामा कात्तिक २३ गतेदेखि सुरु भएको खोप अभियानमा १ हजार ४६ किसानका ३ हजार ५ सय ७४ किसानलाई खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी निरजकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै हिलिहाङ गाउँपालिकाका पशु चौपायालाई खोप लगाइएको छ ।

कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउन अहिले विभिन्न जिल्लामा अभियान सञ्चालन भइरहेको छ । जस अन्तगत पाँचथरमा मङ्सिर २३ गतेसम्म सञ्चालन हुने अभियानमा ६६ हजार चौपायालाई खोप लगाउने लक्ष्य छ । 

दुधजन्य वस्तुको निर्यात प्रबर्द्धन गर्ने उद्देश्यले गाई, भैंसी र चौंरीलाई खोप दिन लागिएको हो । खोप लगाएका चौपायामा सामान्यतया ज्वरो आउने र झोक्राउने समस्या देखिए पनि जटिल असर नदेखिएको किसानहरुले जनाएका छन् ।

खोप लगाएको २४ घण्टाभित्र केही पशुमा सामान्य ज्वरो आए पनि निको भएको उनीहरुको भनाई छ ।  

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully