खाँदबारी नगरपालिका-१ बसपार्क क्षेत्रबाट पक्राउ गर्न खोजिएका खाँदबारी-६ घरभएका ३१ वर्षीय रुद्रबहादुर विश्वकर्माले खुकुरी देखाएर भाग्न खोजेपछि प्रहरीले तिघ्रामा गोली प्रहार गरेको हो ।
संखुवासभा — संखुवासभाको खाँदबारीमा खुकुरी देखाएर साधा पोसाकमा खटिएका प्रहरीको हतियार खोस्न खोज्ने एक जनालाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।
आइतबार दिउँसो खाँदबारी नगरपालिका-१ बसपार्क क्षेत्रबाट पक्राउ गर्न खोजिएका खाँदबारी-६ घरभएका ३१ वर्षीय रुद्रबहादुर विश्वकर्माले खुकुरी देखाएर भाग्न खोजेपछि प्रहरीले तिघ्रामा गोली प्रहार गरेको हो । उनले प्रहरीमाथि हातपात गर्दै हतियार खाेस्ने प्रयास समेत गरेका थिए ।
जिल्ला प्रहरी संखुवासभाका डिएसपी कुमारप्रसाद मैनालीका अनुसार विश्वकर्मा जबरजस्ती करणी मुद्दामा ६ वर्ष सजाय भोगेर हालै कैदमुक्त भएका थिए । कारागारबाट निस्किएपछि पनि उनीविरुद्ध ६/७ वटा चोरीका उजुरी परेपछि पक्राउ गर्न खोज्दा हतियार खोस्ने प्रयाससँगै आक्रमक व्यवहार देखाएकाे डीएसपी मैनालीले बताए ।
गोली प्रहारबाट घाइते भएका विश्वकर्माको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको र थप अनुसन्धान भइरहेको डीएसपी मैनालीले बताए ।
