चिसो बढेपछि सुनसान बन्दै हिमाली बस्ती

चिसो बढ्दै जाँदा स्थानीय बासिन्दा बेंसी झर्न थालेपछि फक्ताङलुङ र मिक्वाखोलाका हिमाली बस्तीमा मानवीय चहलपहल कम भएकाे छ ।

कार्तिक २९, २०८२

आनन्द गौतम

Himalayan settlements are becoming deserted as the cold weather increases

ताप्लेजुड — फक्ताङलुङ गाउँपालिका–६ लेलेप घुन्सामा रहेको घुन्सा आधारभूत विद्यालय परिसरमा बिहान साढे १० बजेमात्रै घाम देखिन थाल्छ ।

वरिपरी डाँडाले घेरिएको बस्तीमा सबैभन्दा पहिला घाम लाग्ने ठाउँ विद्यालय क्षेत्रमै हो । समुन्द्री सतहबाट ३१ सय मिटर उचाइको यो बस्तीमा बिहान बेलुका चिसो बढेकाले बालबालिका विद्यालय पुगेर प्राथना सभा सकेपछि चौरमा बस्न रुचाउँछन् । घाम लागेको बेला शिक्षकले पनि त्यसैगरी बन्दोबस्त मिलाइदिएका छन् ।

चिसो सुरु भइसकेकाले यहाँ अध्ययनरत आठ जना विद्यार्थी भने घर फर्किसकेका छन् । बालविकास कक्षालगायत तल्लो तहमा पढ्ने र घुन्सा र फलेको बस्ती भन्दा बाहिरका विद्यार्थीलाई अब न्यानो सुरु भएपछि आउनेगरी विद्यालयले विदा दिएको हो ।

माथिल्लो कक्षाका विद्यार्थीका लागि भने मंसिर पहिलो सातादेखि अर्धवार्षिक परीक्षाको तयारी भइरहेको छ । चिसो सुरु भएपछि बालबालिका धेरै विरामी हुने, उनीहरुको विशेष हेरचाह गर्नुपर्ने र आमाबुवा टाढा भएकाले विद्यालयले विदा दिएको हो । समान उचाईका दुई बस्ती घुन्सा र फलेका २४ जना भने अध्ययनरत नै रहेका छन् । 

कञ्चनजंघा आधार शिविरमा पर्ने यो क्षेत्रमा मानवीय चहलपहल पनि कम हुँदै गएको छ । कञ्चनजंघा हिमालको उत्तरी र दक्षिणी आधार शिविर घुम्न आएका पर्यटक फाट्टफुट्टबाहेक फर्किइसकेका छन् । चिसो बढ्दै गर्दा स्थानीय बासिन्दा पनि क्रमशः बस्ती छोडेर बेंसीतिर झर्न थालेका छन् ।

सप्तरीको भारदह घरभई घुन्सा आधारभूत विद्यालयमा पढाउँदै आएका प्रधानाध्यापक सिंहबहादुर यादव चिसोको गति अनुसार आफूहरुको दैनिकी चल्ने बताउँछन् । ‘बस्तीमा घाम ढिलो आउँदा चिसो थेग्न मुस्किल हुन थाल्छ,’ उनले भने, ‘त्यसपछि मानिसहरु बस्ती छाडेर हिड्ने, स्कुल कार्यालय बिदा गर्ने, पशुचौपाय औलतिरका खर्कमा लगाइदिने क्रम सुरु हुन्छ ।’ 

घुन्साका डण्डु शेर्पाका अनुसार चिसो बढ्दै जाँदा स्थानीय बासिन्दा घरमा ताल्चा लगाएर औलतिर लाग्न थाल्छन् । धेरैजसोले यो समय आफन्त भेटघाटमा उपयोग गर्दै आएका छन् । कतिपय ताप्लेजुङ, काठमाडौं, भारतको दार्जिलिङतिर गएर पनि बस्ने गरेका छन् । 

११ परिवारको बसोबास रहेको फक्ताङलुङ गाउँपालिका–७ याङ्माका सबै घरपरिवारले चिसोको बेला बस्ती छाड्छन् । फक्ताङलुङ–६ लेलेपको खम्बाछेन, घुन्सा, फले र मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलाका बासिन्दा पनि चिसो छल्न बस्तीबाट हिँड्ने गरेका छन् । बस्तीनै रित्याएर नहिँडे पनि हिउँदमा फक्ताङलुङ–७ ओलाङचुङगोलामा पनि बसोबास पातलो हुने गरेको छ ।

Himalayan settlements are becoming deserted as the cold weather increases

दशकअघिसम्म स्थानीय जाडोमा बस्ती छाड्ने र फर्कने तालिका नै बनाउने गरेका थिए । हावापानीमा आएको परिवर्तनले पछिल्लो समय अवस्था हेरेर तत्कालै निर्णय गरिँदै आएको स्थानीय बताउँछन् । ‘एक दशक अघिसम्म बस्तीमा कहिलेसम्म बस्ने, कति समय बाहिर जाने र फर्कने भन्ने ठ्याक्कै तिथिमिति तय हुन्थ्यो,’ घुन्साका डण्डुले भने, ‘अहिले जलवायु परिवर्तनले होला चिसो र तातो, हिउँ पर्ने र नपर्ने समयको अन्तर भएकाले बस्ती छाड्ने र फर्कने समय पनि ठ्याक्कै मिलेको छैन ।’ 

डण्डुका अनुसार दशक अघिसम्म मंसिरदेखि माघसम्म मानिसहरु बस्ती बाहिर हुन्थे । मंसिरपछि हिउँ पर्न थाल्थ्यो । अहिले हिउँपर्ने समय यकिन नभएकाले कहिलेकाँही मंसिर अन्तिमसम्म पनि मानिसहरु बस्ती हुने गरेका छन् । तर चिसो कम नहुँदा र हिउँ पर्नेक्रम फेरिँदा फागुन अन्तिमतिर मात्रै बस्तीमा फर्कने गरेका छन् । ‘हाम्रो खास स्कुल विदा मंसिर अन्तिम सातादेखि माघसम्म हो,’ प्रधानाध्यापक सिंहले भने, ‘बच्चा र गाउँलेहरुले चिसो थाम्न सकिएन भने अगाडि नै र सामान्य चिसो भयो भने मंसिर अन्तिमसम्म स्कुल खोल्छौं ।’

ताप्लेजुङमा ४२ सय मिटर उचाईसम्म बस्ती छन् । याङमा र खम्बाछेन जिल्लामा सबैभन्दा उच्चस्थानमा रहेका बस्ती हुन् । यी बस्तीमा सामुदायिक विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, सशस्त्र प्रहरी बेस क्याम्प, कञ्चनजंघा संरक्षण क्षेत्रका कार्यालय छन् ।

विद्यालय विदा भए पनि अन्य सरकारी कार्यालयले भने बस्तीमै रहनका लागि आगो ताप्ने दाउरा, शरीरमा लगाउने र ओढ्ने–ओछ्याउने न्यानो कपडाको बन्दोबस्ती मिलाउनु पर्छ । हिउँदको सिजन यहाँ बसोबासका लागि निकै खर्चालु समेत हुने स्थानीय बताउँछन् ।  

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully