झुम्का र नख्खु कारागारबाट भागेका १२ कैदी पाँचथरबाट पक्राउ

जबरजस्ती करणी मुद्दामा दोषी प्रमाणित भएर कारागार चलान भई भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका बाबुराम आङ्देम्बे शुक्रबार दिउँसो पक्राउ परेसँगै जिल्लामा यो संख्या १२ पुगेको हो ।

कार्तिक २८, २०८२

लक्ष्मी गौतम

Twelve prisoners who escaped from Jhumka and Nakkhu prisons arrested in Panchthar

What you should know

पाँचथर — जेन-जीले भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका १२ जना कैदी पाँचथरबाट पक्राउ परेका छन् ।

जबरजस्ती करणी मुद्दामा दोषी प्रमाणित भएर कारागार चलान भई भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट भागेका बाबुराम आङ्देम्बे शुक्रबार दिउँसो पक्राउ परेसँगै जिल्लामा यो संख्या १२ पुगेको हो । २६ वर्षीय उनलाई मिक्लाजुङ-४ रवि बजारबाट दिउँसो १ बजे पक्राउ गरी सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) अनिषकुमार कर्णले जानकारी दिए ।

यसअघि कारागारमा तोडफोड र आगजनी हुन थालेपछि भागेका ११ जना पक्राउ परिसकेका थिए । पक्राउ परेकाहरुमा जिल्लाको कुम्मायक-१ का ४५ वर्षीय पनेन्द्र तामाङ, फिदिम नगरपालिका-१ का ३६ वर्षीय बिनय नेम्वाङ, तुम्वेवा-५ मौवाका ४० वर्षीय गोपाल बोहरा, फिदिम नगरपालिका-५ का ३० वर्षीय मंगलसिं तुम्बापो, हिलीहाङ गाउँपालिका-७ का २९ वर्षीय चक्र तामाङ छन् । 

यस्तै मिक्लाजुङ गाउँपालिका-५का ५१ वर्षीय सन्तविर लावती, फाल्गुनन्द गाउँपालिका-३ का ५१ वर्षीय देशबहादुर तामाङ, फिदिम-१ का ४० वर्षीय राजेन्द्र परियार दर्जी, हिलीहाङ- ४ का २२ वर्षीय किरण पोख्रेल, फिदिम-१२ का ३५ वर्षीय मिलन थाम्सुहाङ र याङवरक गाउँपालिका-३ का २३ वर्षीय उदेश नुगो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

पक्राउ परेकामध्ये एकजना फिदिम-१ का चन्द्र भनिने विनय नेम्वाङ काठमाडौंस्थित नख्खु कारागारबाट भागेका हुन् । अरु ११ जना झुम्का कारागारबाट भागेका हुन् ।

पक्राउ परेका हरुलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । जिल्लामा अझै पनि फरार कैदीबन्दी रहेको प्रहरीको अनुमान छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully