कबिर माध्यमिक विद्यालयले गर्‍यो अदालतको आदेशको अवज्ञा

अदालतले दुवै शिक्षकलाई पुनर्बहाली गराउन आदेश दिए पनि विद्यालयले अहिलेसम्म कार्यान्वयन गरेको छैन ।

कार्तिक २८, २०८२

अर्जुन सुवेदी

Kabir Secondary School disobeys court order

What you should know

सुनसरी — मोरङको बेलबारीमा रहेको कबिर माध्यमिक विद्यालयले अदालतको आदेशको अवज्ञा गरेको छ । विद्यालयले गत भदौ १० गते व्यवस्थापन समितिको बैठकको निर्णय भन्दै प्रावि तहका शिक्षक विष्णुकुमारी खतिवडा र तृतीय श्रेणीका शिक्षक खेमबहादुर पराजुलीलाई हटाएको थियो ।

उनीहरूलाई बेलबारी नगरपालिकाको कार्यालयमा हाजिर हुनु भन्दै पत्र थमाइएको थियो । त्यसविरुद्ध उनीहरूले गत असोज २४ गते उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए ।

उच्च अदालत विराटनगरका न्यायाधीश प्रकाश खरेलको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न नगराउन विद्यालयको नाममा अल्पकालीन आन्तरिक आदेश जारी गर्दै असोज ३० गते दुवै पक्षलाई छलफलको लागि बोलाएको थियो । उच्च अदालतका न्यायाधीश गणेश ठाकुर र पूर्णप्रसाद राजवंशीको संयुक्त इजलासले असोज ३० गते दुवै शिक्षकलाई पुनर्बहाली गराउन आदेश दिएको थियो ।

अदालतको आदेशमा भनिएको छ– निवेदकलाई बेलबारी नगरपालिकामा हाजिर हुन जानु भनी भदौ १० गते गरेको निर्णयमा कुनै खास कारण उल्लेख नगरेको देखिएको र निवेदकलाई सफाइको कुनै मौका समेत नदिई गरेको निर्णय एवं पत्राचार तत्काल कार्यान्वयन नगर्नु नगराउनु ।

तर विद्यालयले अदालतको आदेशको अहिलेसम्म पनि कार्यान्वयन नगरेको पीडित शिक्षक खेमबहादुर पराजुलीले बताए । पराजुलीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले पूर्वाग्रही भएर आदेश आएको एक महिना हुन लाग्दा समेत हाजिर गर्न नदिएर अदालतको मानहानि गरेको बताए । विद्यालयका प्रधानाध्यापक अभय लिम्बूले शिक्षकहरूलाई हाजिर गराउन अदालतले आदेश दिए पनि विभिन्न कारणले कार्यान्वयन गर्न नसकिएको स्वीकारे ।

अर्जुन सुवेदी

Link copied successfully