पाँचथर निर्वाचन कार्यालय प्रमुखविहीन, मतदाता नामावली दर्ता सेवा प्रभावित

नाम दर्ता प्रक्रियाका लागि सूचीकृत हुन पुगेका सर्वसाधारणले घण्टौं कुर्दा पनि सेवा पाएका छैनन् ।

कार्तिक २७, २०८२

लक्ष्मी गौतम

Panchthar Election Office without a head, voter registration service affected

पाँचथर — जिल्ला निर्वाचन कार्यालय पाँचथर कार्यालय प्रमुखविहीन बनेको छ । निर्वाचन आयोगले मतदाता नामावली संकलन जारी राखे पनि प्रमुखसँगै निमित्त प्रमुख नहुँदा सेवा प्रभावित भएको छ । 

यहाँका प्रमुख सरुवा भएर गएको महिना दिन भइसक्दासम्म नयाँ प्रमुख हाजिर भएका छैनन् । निमित्तको जिम्मेवारी पाएका नायव सुब्बा सुमन खड्का पनि बिदामा छन् । जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नयाँ नाम दर्ता गराउन पुगेका नागरिकले हैरानी खेप्नुपरेको छ । नाम दर्ता प्रक्रियाका लागि सूचीकृत हुन पुगेका सर्वसाधारणले घण्टौं कुर्दा पनि सेवा पाएका छैनन् ।

आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न दिएको समयसीमा सकिन तीन दिन मात्रै बाँकी छ । कार्यालयले आयोगको सिष्टम नचलेको भन्दै कामलाई गति दिन नसकेको बताउने गरेको फालेलुङ-६ बाट आएका सन्तोष राईले बताए ।

प्रमुख र निमित्तसमेत नभएको यो कार्यालय हाल कम्प्युटर अपरेटर अशोक घिसिङको नेतृत्वमा छ । उनीसहितका कर्मचारीले नाम दर्ताका लागि सहजीकरण गरिरहेका छन । सेवाग्राहीले कार्यालयबाट सम्पादन भइरहेको कामप्रति असन्तुष्टि जनाइरहेका बखत घिसिङले भने सिष्टम नचलेकाले काममा ढिलाए भएको प्रतिक्रिया दिए ।

बिहीबार दिउँसो ३ बजे निर्वाचन कार्यालयमा पुगेका एक सयभन्दा धेरै सेवाग्राही लाममा उभिएर पालो कुरिरहेका थिए । सुरुमा सिष्टम चल्छ भन्दै पर्खाएका कर्मचारीले अपराह्न काम नहुने भन्दै फर्काएको उनीहरुको गुनासो छ ।

पछिल्लो पटक पाँचथरमा एक हजार हाराहारी नयाँ मतदाता थपिएका छन । जसमध्ये अधिकांश युवा छन् ।

जिल्ला निर्वाचन कार्यालय पाँचथरमा बिहीबार नाम दर्ताका लागि पालो कुरिरहेका सेवाग्राही । तस्बिर : लक्ष्मी/कान्तिपुर

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully