मोरङको ग्रामथान गाउँपालिका–५ ककडमाडीमा दिउँसो १२:१५ बजे कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कोर्पिओ गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ग्रामगान–५ का ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो ।
विराटनगर — नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रयोग गर्दै आएको सरकारी गाडीको ठक्करबाट बिहीबार एक जनाको ज्यान गएको छ ।
मोरङको ग्रामथान गाउँपालिका–५ ककडमाडीमा दिउँसो १२:१५ बजे कोशी प्रदेशसभाको को १ झ ६५० नम्बरको स्कोर्पिओ गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ग्रामगान–५ का ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको हो । मोरङ प्रहरीकाअनुसार विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको गाडीले बाटो क्रस गर्दै गरेको को ९ प ७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
तीव्र गतिमा रहेको गाडीको ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई स्थानीयले उद्धार गरी विराट नर्सिङ होम पठाएका थिए । उपचारकै क्रममा दिउँसो ३:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटना हुँदा गाडीमा नेता आङ्बो सवार थिएनन् । प्रहरीका अनुसार उक्त गाडी उनका आफन्तलाई लिन जाँदै गरेको समयमा दुर्घटना भएको हो । ठक्कर दिने स्कोर्पिओका चालक पाँचथर फाल्गुनन्द गाउँपालिका–१ का ४० वर्षीय गम्भीरमान सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरीले जानकारी दिए ।
प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
