धरानमा प्याराग्लाइडिङमा महिलाको रुचि र सहभागिता बढी रहेको नेपाल हृयाङ ग्लाइडिङ तथा प्याराग्लाइडिङ संघ सुनसरीका अध्यक्ष रोशन अधिकारीले बताए । पूर्वको सन्दर्भमा पुरुषभन्दा बढी महिलाले प्याराग्लाइडिङ गरेका छन् ।
What you should know
धरान — नेपालमा साहसिक खेलप्रति पनि रुचि बढ्दै गएको छ । त्यसमा पनि पछिल्ला वर्षमा महिलाहरूको प्याराग्लाइडिङप्रतिको आकर्षण उल्लेख्य रूपमा बढेको देखिएको छ ।
धरान-१४ की जानुका लिम्बुको सानैको सपना थियो- प्याराग्लाइडिङ गर्ने । उनी सानो छँदा विजयपुर डाँडाबाट आकाशमा बेलुनजस्तै उडेको देख्थिन् । रंगीन बेलुन भन्दै आकाशमा हेर्दै रमाउँथिन् । उनको पनि सपना थियो- एकदिन आकाशमा उड्ने र आकाशबाट आफ्नो घर र धरानका दुश्य हेर्ने । बादललाई नजिकबाट निल्याने र उड्दै खुला आकाशसँगै रमाउँदै अवलोकन गर्ने ।
उनको यो सपना १० वर्षपछि पूरा भएको छ । आकासमा कावा खाँदै उड्न पाउँद आनन्द महसुस भएको लिम्बूले बताइन् । ‘मेरो एउटा सपना पूरा भएको छ र एकदमै खुसी लागेको छ,’ उनले भनिन्, ‘पहिलो पटक आकाशमा उड्न पाउँदाको यो क्षण मेरो जिन्दगीको अविस्मरणीय पल हो ।’ सहज र टाढा नगइ नै आफ्नै ठाउँबाट यसरी उडान लिन पाउँदा खुसी लागेको उनी सुनाउँछिन् । पूर्वमा प्याराग्लाइडिङको सेवाले यताका नागरिक र यसप्रति रुचि राख्नेलाई सहज भएको उनले बताइन् ।
धरानमा प्याराग्लाइडिङमा महिलाको रुचि र सहभागिता बढी रहेको नेपाल हृयाङ ग्लाइडिङ तथा प्याराग्लाइडिङ संघ सुनसरीका अध्यक्ष रोशन अधिकारीले बताए । पूर्वको सन्दर्भमा पुरुषभन्दा बढी महिलाले प्याराग्लाइडिङ गरेका छन् ।
त्यस्तै धरानकै अन्जिला बुढाथाकी पनि प्याराग्लाइडिङ गर्न आएकी थिइन् । उनले पनि यो पहिलेदेखिकै आफ्नो सपना रहेको उनले सुनाइन् । ‘पहिलो चोटि प्याराग्लाइडिङ गर्न लागेको हो, डर पनि लागिरहेको तर त्यससँगै उत्साहित पनि छु ।’प्याराग्लाइडिङमा महिलाको संख्या दिनप्रतिदिन बढ्दैछ, जसले नेपालमा साहसिक पर्यटनमा महिलाको अग्रसरता देखाएको छ ।
पछिल्लो समय प्याराग्लाइडिङ उडानमा महिलाहरुको आकर्षण बढ्दो देखिएको छ । एड्भेन्चर प्याराग्लाइडिङ उडान भर्नेमा महिलाहरुको बढी सहभागिता पाइएको अध्यक्ष अधिकारीले बताए । ‘प्याराग्लाइडिङ गर्न आउने बढीमात्रामा महिला हुन्छन्, सामाजिक संजालको विकाससँगै फोटो, टिकटक, भिडियो, ब्लग बनाउन पनि यसमा महिलाको आकर्षण बढी देखिएको छ । 
मौसम खुलेसँगै धरानबाट व्यावसायिक प्याराग्लाइडिङ उडान सोमबारदेखि पुनः सुरु गरिएको छ । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित छोटी मोरङबाट धरान स्काई एडभेन्चर प्याराग्लाइडिङ प्रालिले नियमित उडान सेवा सुरु गरेसँगै पर्यटकको चहलपहल बढेको छ । विगत १० वर्षदेखि धरान-४ स्थित छोटी मोरङबाट प्याराग्लाइडिङ उडाँउदै आएको उनले बताए । विगतका वर्षमा ३ सयसम्म मानिसहरु प्याराग्लाइडिङ गराएको उनले बताए । ‘यस क्षेत्रमा अहिले पर्यटक कम हुन थालेका छन् । गत वर्ष ४० जनाले मात्र उडान भरेका थिए,’ उनले भने । कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा गरेसँगै केही आशा पलाएको पनि उनले सुनाए ।
मौसम खुलेसँगै धरानमा नियमित रूपमा प्याराग्लाइडिङ उडान सुरु गरिएको अध्यक्ष अधिकारीले बताए । उनका अनुसार एक हप्तामा सात जनाले प्याराग्लाइडिङ उडान भरेका छन् ।
पोखराको सारङकोटबाट सुरु भएको प्याराग्लाइडिङ देशकै लोकप्रिय गन्तव्य बनेको थियो, तर अहिले धरानमा पनि प्याराग्लाइडिङमा पर्यटकको आकर्षण केन्द्र र लोकप्रिय गन्तव्य बन्दै गएको छ । प्याराग्लाइडिङ उडान छोटी मोरङबाट सुरु भएर धरान बजार वरिपरि परिक्रमा गर्दै धरान रंगशाला, बुढासुब्बा मन्दिर परिसर र सेउती खोला किनारमा ल्याण्डिङ गरिन्छ । करिब ३० मिनेटको हवाई यात्रामा पर्यटकले धरान र आसपासका रमणीय दृश्य, भेडेटार, सप्तकोसी नदीको माथिल्लो भाग तथा पहाडका रमणीय स्थलको दृश्यावलोकन गर्न पाउनेछन् । सञ्चालक अधिकारीका अनुसार एकपटकको उडानका लागि ७ हजार रुपैया शुल्क लाग्नेछ । यात्रामा फोटो र भिडियो खिच्ने सुविधा पनि समावेश गरिएको छ ।
पर्यटकीय सिजन सुरु भएसँगै धरान भेडेटार घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहलले केही आशा पलाएको अध्यक्ष अधिकारी बताउँछन् । 'कोरोनाका कारणले प्याराग्लाइडिङ उडान पनि प्रभावित भएको छ ,' उनले भने, ‘त्यसभन्दा अगाडिको समयमा प्याराग्लाइडिङ उडानले राम्रो व्यापार गरेको थियो तर त्यसको तुलनामा अझै पनि पहिलाजस्तो व्यापार फस्टाउन सकेको छैन । सुधारोन्मुख भने छ ।'
प्याराग्लाइडिङ उडान हुन थालेपछि भारतको बिहार, विराटनगर, इटहरी, झापा लगायत स्थानबाट पनि पर्यटक आउन थालेका छन् । अधिकारीका अनुसार धरानमा प्याराग्लाइडिङ सञ्चालन गर्नका लागि पाइलट तालिम र प्राविधिक तयारी पूरा गरी व्यावसायिक रूपमा सुरु गरेको बताए । 'धरान र भेडेटारको पर्यटन आकर्षणलाई अझ विस्तार गर्न हामीले व्यावसायिक उडान सुरु गरेका हौं,' उनले भने, 'यसले धरानको आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्नेछ ।'
सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले धरानमा नियमित रूपमा प्याराग्लाइडिङ उडान सञ्चालन हुँदा स्थानीय पर्यटन व्यवसायमा नयाँ ऊर्जा थपेको बताए । 'धरानको विशेषता भनेको तराई, पहाड र हिमालको दृश्य अवलोकन गर्न सकिन्छ,' उनले भने । यसले धरानमा आन्तरिक पर्यटक मात्र होइन, भारतका विभिन्न सहरबाट पनि पर्यटक आकर्षित गर्नेछ । यसले कोरोनाबाट सुस्ताएको होटल, यातायात र रेस्टुरेन्ट व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने आशा लिएको उनले बताए । पूर्वमा हाल धरानसँगै उदयपुरको बेलका–बुक्ताङ डाँडामा पनि प्याराग्लाइडिङ सञ्चालन भइरहेको छ ।
